सरकारले मिडियालाई हेर्ने दृष्टिकोण सन्तोषजनक छैन् : अध्यक्ष बस्नेत

राजविराज – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले मिडियालाई हेर्ने दृष्टिकोण सन्तोषजनक नरहेको टिप्पणी गरेका छन् । आज सप्तरीको राजविराजमा आयोजित ‘पत्रकार आचारसंहितामा मिडिया विकास कोष र पत्रकारिता वर्गीकरण सम्बन्धि अन्तरक्रिया’मा उनले सरकारले मिडियालाई हेर्ने दृष्टिकोण अझैं फराकिलो हुनुपर्ने बताएका हुन् ।

‘पत्रकारिता क्षेत्रको विकास गर्ने कार्य अझैं सरकारको प्राथमिकतामा पर्नसकेको छैन’ अध्यक्ष बस्नेतले भने, ‘पहिलेको तुलनामा केही सुधार देखिएपनि सरकारले मिडियालाई हेर्ने दृष्टिकोण अझैं फराकिलो बनाउनु जरुरी छ ।’

उनले अहिलेको लोककल्याणकारी विज्ञापन वितरण प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘हालको लोककल्याणकारी विज्ञापन वितरण प्रणालीले सबै मिडियालाई सम्मानजनक सम्बोधन गर्न सकेको छैन्’ उनले भने, ‘विज्ञापान वितरण प्रणालीले स्थानीय मिडियाहरु सरकारी सुविधाबाट बञ्चित भएको छ, सरकारले स्थानीय मिडियामाथि अन्याय गर्नु हुँदैन । पत्रकार र पत्रकारकारिता क्षेत्रको समग्र विकासका लागि लोककल्याणकारी विज्ञापान नियमावली परिवर्तन गर्नुपर्ने आवश्यक छ ।’

अध्यक्ष बस्नेतले पत्रकारको हितकालागि नियमावली संशोधन गर्न सरकार र संसदको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे । हुबहु नाम मिलेको अनलाइन मिडियाहरुलाई नियन्त्रण गर्ने बताउँदै उनले चाडै अनलाइनहरुलाई वर्गीकरण र व्यवस्थापन गर्ने कार्य काउन्सिलले अघि बढाउने बताए ।

कार्यक्रममा आमसञ्चार प्राधिकरण, मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र प्रबर्द्धन गर्न प्रतिबद्ध रहेको बताए । ‘हामीले मधेश प्रदेशका पत्रकारहरुका लागि १ लाख रुपैयाँसम्मको स्वास्थ्य र ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने कार्य सुरु गरिसकेका छौं’ उनले भने, ‘पहिलो चरणमा हामीले १५० जना महिला पत्रकारलाई सो बीमा गरिसक्यौं र अब प्रेस प्रतिनिधि परिचय–पत्र वितरण लगायत सुविधा दिने कार्यहरुको शुरूवात गर्नेछौं ।’

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको संयोजनमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाईं, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, तिरुहुत गाउँपालिकाका अध्यक्ष विजय यादव, प्रेस काउन्सिल नेपालका सदस्य राम प्रसाद दाहाल लगायतले बोलेका थिए ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भवेन्द्र भुसाल र नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सचिव रामनारायण विश्वासले संयुक्त रुपमा सञ्चालन गरेको अन्तरक्रियामा प्रेस काउन्सिल नेपाल सदस्य दाहाल र मुख्य अधिकृत भुसालले सहजीकरण गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस