जनकपुरधाममा फागुन ५ गतेदेखि व्यापार मेला

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा फागुन ५ गतेदेखि ‘जनकपुरधाम व्यापार मेला २०७९’ को आयोजना हुने भएको छ । व्यापार मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी र प्रतिष्ठानबीच अनुभव आदानप्रदान भई व्यापार, व्यवसायको विकासमा थप टेवा पुग्ने विश्वास आयोजकको छ ।

जनकपुरधाममा आज पत्रकार सम्मेलनको आयोजना गर्दै व्यापार मेला फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना हुने सङ्घका अध्यक्ष जीतेन्द्र महासेठले जानकारी दिए ।

स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने प्रमुख उद्देश्य लिइएको भए पनि मेलामा सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बङ्गलादेशका विभिन्न क्षेत्रका व्यापारीको सहभागिता रहने अध्यक्ष महासेठले जानकारी दिए ।

मेलामा एक सय ५० भन्दा बढी प्रदर्शनी कक्ष रहने आयोजकले जनाएको छ । एक लाखभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका महासचिव मनोजकुमार साहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस