सप्तरीमा एक कार्यपालिका सदस्य नै भारतीय नागरिक

राजविराज, ८ माघ । सप्तरीको खडक नगरपालिकाका एक नगर कार्यपालिका सदस्य नै भारतीय नागरिक रहेको खुलासा भएको छ ।

नगर कार्यपालिका सदस्य पदमा निर्वाचित चन्दन कुमार साह भारतीय नागरिक रहेको खुल्न आएको हो । तत्कालिन कल्याणपुर गाविस वडा नम्वर ३ बाट वंशज नेपाली नागरिकता लिएका साह भारत बिहार राज्यको मधुबनी जिल्लास्थित अटरी ग्राम पञ्चायत निवासी हुन् ।

सो पञ्चायतमा उहाँको भोटर आईडी (मतदाता परिचय पत्र नम्वर) ‘जेडक्यूक्यू०६९७०८६’ हो । साहसँगै उनका बुवा जय नारायण साह र उनकी श्रीमति रिणा देवी पनि अटरी ग्राम पञ्चायतकै मतदाता हुन् । जय नारायणको ‘जेडक्यूक्यू०८८२८७८’ र रीण देवीको ‘जेडक्यूक्यू०८८३२४९’ भोटर आइटी रहेको भारत निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।

साहका बुवा जय नारायणले त्यसअघि नै नक्कली कागजातअनुसार नागरिकता लिएको र सो नागरिकताकै आधारमा साहले २०६० साउन १ गते वंशज नागरिकता लिएको नाम नछाप्ने शर्तमा एक स्थानीयले जानकारी दिए ।

‘तीनै जनासँग दोहोरो नागरिकता छ र सन् २०२१ को पञ्चायत आम निर्वाचन नामावलीमा तीनै जनाको नाम उल्लेख छ’ उनले भने, ‘त्यसअघि भारतीय नागरिक रहेका साहका बुवाले त्यसबेला फर्जी कागजात पेश गरेर नेपाली नागरिकता लिएका हुन् ।’ तीनै जनामाथि छानबिन हुनुपर्ने उनको माग छ ।

यता, नगर कार्यपालिका सदस्य साहको नागरिकता छानबिन गर्न जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन समेत परेको छ । नागरिक अभियानता राजु जायसवालले शुक्रवार दिएको निवेदनमा पनि जय नारायणले गैरकानूनी ढंगले नागरिता लिएको र सोही नागरिकताअनुसार साहले वंशज नागरिकता लिएको दावी गरिएको छ ।

‘जय नारायण साह, चन्दन कुमार साह र रिणादेवी साहको २०२१ को भारतीय भोटर आईडी कार्डमा नाम यथावत रहेको छ भने चन्दनले निर्वाचन आयोगलाई समेत गुमराहमा पारेर अल्पसंख्यक कोटामा नगर कार्यपालिकाको सदस्य बनेका छन्’ निवेदन भनिएको छ, ‘उनीहरुको नागरिकता छानबिन गरी नागरिकता रद्द गरियोस् ।’

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निवेदन आएपनि हेर्न नभ्याएको बताए । ‘निवेदन त धेरै वटा आएको छ तर सोही किसिमको निवेदन हो भन्ने कुरा अहिले नै भन्न सकिनँ किन की हेर्न भ्याएको छैन्’, उनले भने ।

नगर कार्यपालिका सदस्य साहले यो विषयमा बुझेर भन्ने प्रतिक्रिया दिए । कसलाई बुझेर भन्नुहुन्छ? भने प्रश्नमा साहले भने ‘होइन म बुझेर भन्छु ।’ त्यसपछि सम्पर्क हुन सकेन । आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस