गरिबीको पीडा : सहकारीको किस्ता तिर्न नसक्दा आत्महत्या

राजविराज — सहकारी संस्थाको किस्ता तिर्न नसक्दा सप्तरीमा एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) मंगलबार विहान आँपको रूखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

सोमबार राति खाना खाएर सुतेका उनी घरभन्दा करिब ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिए । परिवारका अनुसार दुईवटा सहकारी संस्थाबाट १ लाख रुपैयाँ ऋण लिएका रामदेव किस्ता तिर्न नसक्दा तनावमा थिए ।

‘छोराको विवाह गर्दाको बेला गत वैशाख १ गते दुई वटा सहकारी संस्थाबाट ऋण लिएका थियौं’ मृतक रामदेवकी श्रीमति उर्मिलादेवीले भनिन्, ‘हरेक महिनाको ९ गते किस्ता तिर्दै आइरहेका थियौं ।’

उनका अनुसार पछिल्लो पटक गत ९ गते किस्ता तिर्ने बेला भइसक्दा समेत पैसाको जोहो हुन सकेको थिएन । ‘मैरै नाममा ०७८ मंसिर १३ मा ग्लोबल आईएमई लघुवित्त सहकारीबाट ९० हजार ऋण लिएका थियौं र किस्ता पनि चुक्ता गर्दै अहिले ४४ हजार ३ सय ३२ रुपैयाँ साँवा र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ’ उनले भनिन्, ‘त्यस्तै, महुली लघुवित्त सहकारीबाट पनि १५ हजार रुपैयाँ ऋण लिएकामा अब ४ हजार ३ सय ३ रुपैयाँ ९० पैसा तिर्न बाँकी छ तर त्यस्तो किस्ता चुक्ता गर्न त्यो दिन पैसाको जोहो हुन सकेको थिएन ।’

गत सोमबार समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएको उनले बताइन् । ‘सबैतिर हारगुहार गर्दा पनि पैसाको जोहो नभएपछि कर्मचारीहरु घरमा आउँदाको बेला घरमा छैन् भनेर सुनाउन उहाँले भन्नुभएको थियो’ उनले भनिन्, ‘मंगलबार जसरी पनि ऋण बुझाउ भनेर कर्मचारीहरु हप्काएर गएपछि उहाँ धेरै नै तनावमा हुनुहुन्थ्यो ।’

सोही तनावले नै रामदेवले आत्महत्याको बाटो रोजेको उर्मिलादेवीको दुखेसो छ । मृतक रामदेवका श्रीमती र दुई छोरा छन् ।

यता, जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘ऋणको कुरा पनि आइरहेको छ तर अहिले स्पष्ट हुनसकेको छैन्’ उनले भने, ‘के कारण उहाँले आत्महत्या गरेको हो सोबारे हामी अनुसन्धान गरिरहेका छौं।’

Author:



क्याटोगरी छान्‍नुहोस