गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजदेखि अन्तिम सुनुवाइ

जनकपुरधाम – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आजदेखि अन्तिम सुनुवाइ गर्ने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद लामिछानेको नागरिकता र राहदानी विवादित छ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने नपर्ने विषयमा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।

पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो ।

अमेरिका बस्दा त्यहाँको नागरिकता लिनुभएका लामिछानेले नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि अमेरिकी नागरिकता त्याग्नु भएको थियो । अमेरिकी नागरिकता त्यागेपछि फेरि नेपाली नागरिकता कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि फेरि नागरिकता कायम गराउन निवेदन नदिएकाले उहाँको पुरानो नागरिकता प्रमाणपत्र बैध नहुने दाबी रिट निवेदकको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस