डिजेल लोड भएको टयाङ्कर नै चोरी भएपछि …

राजविराज, १७ माघ । नेपाल आयल निगम मधेश, प्रादेशिक कार्यालय अमलेखगंज डिपो बाराबाट डिजेल लोड भएको टयाङ्कर नै चोरी भएको पाइएको छ । मंगलबार सप्तरीबाट दुई जनालाई पक्राउ गरेपछि ट्याङकर चोरीको घटना बाहिरिएको हो ।

पक्राउ पर्नेमा जिल्लाको कञ्चनरुप नगरपालिका–९ का २९ वर्षीय नबराज भुजेल र खडक नगरपालिका–७ स्थाई घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षीय श्याम कुमार साह छन् ।

भुजेलले टयाङ्कर चोरी गरी डिजेल बिक्री गरेका छन् भने साहले सो डिजेल खरिद गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार गत बुधवार अमलेखगंज डिपोबाट को.१ ख ३६५५ नम्बरको टयाङ्करमा २० हजार लिटर डिजेल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय विराटनगरतर्फ पठाउन लागिएको थियो ।

टयाङ्करका चालक सप्तरीको कञ्चनरुप नगरपालिका–९ कै ४५ वर्षीय बिनोद कुमार भुजेलले सोही दिन साँझ वडा नम्वर ८ स्थित बिक्की पम्पमा टयाङ्कर पार्कीङ्ग गरी आफ्नो घर गएका थिए ।

त्यसको ५ दिनपछि जिल्लाको शम्भुनाथ नगरपालिका–२ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा सो टयाङ्कर फेला परेसँगै चोरी भएको घटना खुल्न आएको थियो । सोही क्रममा टयाङ्करबाट १६ हजार लिटर डिजेल खाली रहेको भइएपछि छानबिन थालिएको र भुजेल तथा साहलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

उनीहरुमाथि चोरी मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस