एनआईसी एसिया बैंकको ‘स्क्याम’ : सनराइज बैंकका वरिष्ठ सहायक दिपेन्द्र मुख्य योजनाकार

राजविराज, २९ माघ । एनआईसी एशिया बैंक शाखा राजविराजले किर्ते जग्गा धितोमा राखेर पौने ३ करोड रुपैयाँ ऋण दिएको खुलासा भएसँगै सम्पर्कविहिन बनेका व्यवसायी मिडियाको सम्पर्कमा आएका छन् ।

सम्पर्कमा आएसँगै व्यवसायी मो.समसादले किर्ते जग्गाधनि प्रमाण–पत्र तयार गर्नेदेखि पैसा लिएर ऋण स्वीकृत गराउनेसम्मको नाम खुलाएका छन् । उनका अनुसार सो ‘स्क्याम’ को सनराइज बैंक शाखा राजविराजका एक कर्मचारी नै मुख्य योजनाकार रहेका छन् भने ती कर्मचारीलाई एक लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटरले कागजात किर्ते गर्ने कार्यमा सघाएका हुन् ।

‘बैंकमा पनि यस्तो हुन्छ भन्ने कुरा मलाई थाहै थिएन, सनराइज बैंक शाखा राजविराजका कर्मचारी दिपेन्द्र यादवले सो ‘स्क्याम’ बारे जानकारी गरायो र त्यसको लागि ७५ लाख रुपैयाँ मागे’ उनले भने, ‘बार्गेनिङ भइरहदा उनले ५० लाख र मैले ३५ लाख तिर्ने भनिरहे, ऋण प्रवाह भइसकेपछि मैले अरु–अरुको खातामा हालेर ३५ लाख रुपैयाँ ‘क्यास’ नै तिरे, घटना बाहिरिएको अघिल्लो दिनसम्म पनि दिपेन्द्रले मसँग थप १५ लाख मागेकै हो ।’

घटना बाहिरिनलाग्दा दिपेन्द्रले नै फोन गरेर आफुलाई फरार हुन सल्लाह दिएको मो.समसादले बताए । ‘सबैलाई जानकारी भइसक्यो, अब हामी फस्छौं । त्यसैले म पनि भाग्दैछु तिमी पनि भाग भनेर फोनमा भने’ मो.समसाद भने, ‘अनि म पनि भागे तर मलाई मात्रै फसाउने प्रयास भइरहेकोले म मिडियामा आएको हुँ, म कारबाही भोग्न तयार छु तर दिपेन्द्र र अन्यलाई पनि कारबाहीको दायरामा ल्याइयोस् ।’

दिपेन्द्र सनराइज बैंक शाखा राजविराजमा वरिष्ठ सहायक पदमा कार्यरत छन् । श्रोतका अनुसार दिपेन्द्रले नै एनआईसी एसिया बैंक शाखा राजविराजका प्रबन्धक संतोशकुमार यादवसँग मिलेर सो ‘स्क्याम’ गराएका छन् । ‘प्रबन्धक संतोशले मोटो रकम लिइ माथिल्लो तहका कर्मचारीलाई झुक्याएर फर्जी जग्गामा लोन स्वीकृत गराए’, श्रोतले भन्यो ।

अर्कैको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को १० कठ्ठा ५ धुर जग्गाको राजविराज नगरपालिका–९ (तत्कालिन मलेठ गाविस वडा नं.७) की वसिरन खातुनलाई नक्कली जग्गाधनि बनाएर गत आइतवार (माघ २२) गते नक्कली जग्गा रोक्का कागजात पारेर रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा रोक्का गरेका छन् भने घरेलु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजमा माघ ९ गते नै खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता भएको एएस ट्रेडर्स एण्ड सप्लायर्सको खातामा ऋण प्रवाह गरिएको छ ।

माघ २२ गते जग्गा रोक्का भएसँगै शाखाका प्रबन्धक यादवले स्वीकृत ऋण २ करोड ८० लाख रुपैयाँमध्ये माघ २४ गतेसम्ममा २ करोड ३० लाख रुपैयाँ निकासा समेत दिइसकेका छन् । घटना बाहिरिएसँगै बुधवारदेखि नै सम्पर्कविहिन रहेका शाखाका प्रबन्धक यादवसँग समाचार तयार पर्दासम्म सम्पर्क हुन सकेको छैन् ।

सम्पर्कविहिन रहेका दिपेन्द्र यादव कार्यरत रहेका सनराइज बैंक राजविराज शाखाका प्रबन्धक मुकेश कुमार साहले हाल उनी आफुहरुको पनि सम्पर्कमा नरहेको बताए । ‘त्यस्तो कुरा आइसकेपछि मैले केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको छु, अहिले उहाँ मसँग पनि सम्पर्कमा छैन्’ उनले भने, ‘उहाँ वार्षिक विदाबाट कटौती हुने गरी १० दिनको विदामा रहनुभएकोले कार्यालय आउने त कुरै भएन ।’

उता, एनआईसी एशिया बैंक केन्द्रीय कार्यालयका असिष्टेन्ट जेनेरल म्यानेजर अर्जुन खन्यालले पहिलो चरणमा हामीले बैंकको पैसा फिर्ता गराउने कार्यमा लागेको र हालसम्म सबै पैसा फिर्ता भइसकेको बताए । ‘बैंकको सबै पैसा रिकोभरी भइसकेको छ, चौकीदार नै चोर भएपछि यस्तै घटना हुन्छ, त्यसैले दोस्रो चरणमा घटनामा संलग्न देखिने बैंकका म्यानेजरदेखि अन्य कर्मचारीमाथि हामी मुद्दा दायर गछौं’, उनले भने।

मालपोतमै तयार भए किर्ते कागजात

व्यवसायी मो.समसादका अनुसार दिपेन्द्रसँग निकट रहेका लेखापढी व्यवसायी शंकर यादव र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटर दिपक शर्माले नै जग्गाधनि प्रमाण–पत्र र अन्य आवश्यक कागजातहरु उपलब्ध गराएका छन् ।

‘दिपेन्द्रको निर्देशनअनुसार मालपोतमा शंकर र दिपकले आवश्यक सबै कागजात उपलब्ध गराए’ समसादले भने, ‘मालपोत कार्यालय पुग्नेवित्तिकै मलाई सबै कागजातहरु उपलब्ध गराइदियो, मैले केही गर्नै परेन ।’

कम्प्युटर अप्रेटर शर्माले सो कुरा अस्वीकार गर्दै आएका छन् भने लेखापढी व्यवसायी यादव सम्पर्कविहिन छन्।

भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माले घटना छानबिन गर्न प्रहरीलाई पत्राचार गर्ने तयारी रहेको बताएका छन् । ‘यो समग्र घटनाबारे मैले सिडिओ सा’बलाई जानकारी गराइसकेको छु, छानबिन गर्न प्रहरीलाई पत्राचार गर्ने तयारी छ’ उनले भने, ‘मेरो कर्मचारी पनि दोषी देखिए एक सय प्रतिशत कारबाही हुन्छ–हुन्छ ।’ करारमा कार्यरत कम्प्युटर अप्रेटर दिपक कार्यालय प्रमुख रामनारायणकै मामाका छोरा हुन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बैंकको आर्थिक अपचलन सम्बन्धी विषयमा आफुहरु गम्भीर रहेको बताए । ‘आर्थिक अपचलन सम्बन्धी विषयमा हामी अत्यन्तै गम्भीर छौं’ उनले भने, ‘सम्बन्धीत कार्यालय प्रमुखलाई सरकारी कागजात किर्ते सम्बन्धी मुद्दामा अघि बढ्न निर्देशन दिइसकेको छु ।’

Author:



क्याटोगरी छान्‍नुहोस