आमसञ्चार प्राधिकरणका अध्यक्ष यादवको दुई वर्ष : यस्तो छ २५ वटा कार्यहरु

जनकपुरधाम, २९ माघ । आमसञ्चार प्राधिकरण, मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले आफ्नो दुई वर्ष कार्यकालमा गरेका कार्यहरु सार्वजनिक गरेका छन् ।

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत रहने गरी तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा ०७७ माघ २३ गते बसेको मन्त्री परिषद्को बैठकको निर्णयबाट प्राधिकरणको अध्यक्षमा यादवले नियुक्ती पाएका थिए ।

नियुक्तीसँगै यादवले दुई वर्षमा गरेका २५ वटा कार्यहरु आइतवार सार्वजनिक गरेका हुन् । सञ्चारकर्मी र सञ्चारमाध्यमको सबलीकरणका लागि अनुभूति हुने गरी कार्यमा लागेका अध्यक्ष यादवले दुई वर्षमा कोभिड–१९ संक्रमणको बेला जोखिमबाट जोगिनका लागि ०७८ जेठ १० देखि १८ गतेसम्म आठ ओटै जिल्लाका सञ्चारर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण, १५० महिला पत्रकारलाई एक लाखको स्वास्थ्य तथा ७ लाखको दुर्घटना बीमा, लोककल्याणकारी विज्ञापन वितरण कार्य गरेका छन् ।

त्यस्तै, जेठ १३ गते देखि अनलाइन सञ्चारमाध्यम दर्ता एंवम् नवीकरण कार्य सञ्चालन, आमसञ्चार प्राधिकरणको वेबसाइट सञ्चालन एवम् अपडेटिङ्ग, पत्रकारहरूको लागि अभिमुखिकरण तथा अन्तरक्रिया, अनलाइन पत्रकारिता तालिम दिएका छन् । त्यस्तै, अनलाइन मार्फत प्राधिकरणको सेवा विस्तार गर्न सूचना व्यवस्थापन प्रणाली सम्बन्धी सफ्टवेयर निर्माण, सूचना व्यवस्थापन विज्ञापन बोर्ड, सूचना तथा प्रशारण विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, बाग्मती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालय, हुलाक सेवा विभाग लगायतका निकायहरुसँग निरन्तर सहकार्य एवम् समन्वय लगायतका कार्य गरेका अध्यक्ष यादवले उल्लेख गरेका छन् ।

अध्यक्ष यादवले आफुले पाएको जिम्मेवारी पूरा गर्न आजको दिनसम्म कुनै कसर बाँकी नराखेको उल्लेख गरेका छन्।

हेर्नुस् २५ वटा कार्यहरु :

आमसञ्चार प्राधिकरणको अध्यक्षमा मेरो दुई वर्ष

नेपालमा निरंकुश राणा शासन तथा कठोर पञ्चायती शासन व्यवस्थाको अन्त्य अर्थात २०४६ सालको जनआन्दोलनबाट प्राप्त प्रजातन्त्रको बहालीसँगै पत्रकारिता क्षेत्रमा व्यापक परिवर्तन आएको छ । शुरुवातका चरणमा गोरखापत्र, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजन सूचना, मनोरञ्जन एवम् समाचार पस्किदै आए पनि हाल निजी तथा सामुदायिक स्तरबाट उल्लेख्य सङ्ख्यामा सञ्चारमाध्यमहरु सञ्चालनमा रहेका छन् ।

माओवादी जनयुद्ध, मधेश आन्दोलन, मधेश केन्द्रित सशस्त्र द्वन्द्व, थरुहट आन्दोलन सहित अधिकार प्राप्तिकालागि भएका अन्य आन्दोलन तथा बन्द, हडतालका कारण तराई मधेशका सञ्चारगृह र सञ्चारकर्मीहरुले अनेक प्रकारका समस्यासित जुध्नुका साथै थरिथरिका मार समेत खेप्नु परेको विदितै छ । तथापि, जनअधिकारका सबालमा आवाज विहीनको आवाज बनेर मुखरित गर्ने कार्य मधेश प्रदेशका पत्रकारहरुले गर्दैआएका छन् ।

न्याय, समानता र पहिचानका लागि भएका सङ्घर्षहरुमा यहाँका पत्रकारहरु आफ्नो दायित्वबाट कदापी विचलित नभई खरो रुपमा आफूलाई उभ्याउन सफल भएको यथार्थ कसैबाट लुकेको छैन । तत्कालिन राज्यपक्षबाट भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको दमन, असुरक्षा जस्ता चुनौतिका बावजुद पनि सञ्चारकर्मी र सञ्चारमाध्यमहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा निभाएको भूमिका आफैंमा गौरवमय छ ।

देशमा राजनीतिक परिवर्तन आउँदा समेत पत्रकारिता क्षेत्रप्रति सरकारले समुचित ध्यान पुर्याउन नसकेका कारण यहाँको मात्र नभई समग्र नेपाली पत्रकारिता क्षेत्र नै उपेक्षाको शिकार बन्दै आएको छ । मधेश तथा देशको दूरदराजमा रहेर काम गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमहरुको अवस्थामा भने अझैं अपेक्षाकृत परिवर्तन आउन सकेको छैन ।

भर्खर बामे सर्दै गरेको मधेश प्रदेशको पत्रकारिता क्षेत्र पटक–पटकको वैश्विक महामारीले पारेको प्रभावका कारण पत्रकारिता क्षेत्र अछुतो रहन सकेन । सञ्चारमाध्यमहरुमा घट्दो विज्ञापन, चर्को विद्युत महशुल सहितका समस्याहरुले गर्दा थप सङ्कटपूर्ण अवस्था झेल्नुपरेको छ ।

कोभिड १९ को पहिलो, दोस्रो र तेस्रो लहरको उच्च जोखिमका बीच पनि मधेश प्रदेशका पत्रकारहरुले सूचना सङ्कलन तथा सम्प्रेषण गर्ने कार्यलाई रतिभर विचलित नभई आफ्नो निर्वहन गरेका छन् । कोभिड कहरका क्रममा मधेश प्रदेश अन्तर्गत रौतहटकी सञ्चारउद्यमी ३० वर्षिया रामा यादव र सञ्चारकर्मी ४१ वर्षिय मनोज चौधरीलाई गुमाउनु परेको पीडा शब्दमा अभिव्यक्त गर्न साध्य छैन । दुई वर्षयता यसैगरी नेपाल पत्रकार महासंघ मधेश प्रदेश उपाध्यक्ष सिरहाको लहान निवासी रामानन्द गुप्ता, रौतहटका पत्रकार रबिन्द्र मण्डल, पर्साका नरेश सर्राफ, नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष माधव आचार्य र मिडिया काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराईको निधनले उतिक्कै मर्माहत तुल्याएको छ ।

कर्तव्य पालनाका सिलसिलामा मृत्युवरण गर्नुभएका सञ्चारकर्मीहरुप्रति हार्दिक श्रद्धासुमन तथा कोभिड विजेता योद्धाहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । यस्तै आफूलाई जोखिममा राखेर भए पनि कर्मक्षेत्रमा देखाएको अदम्य साहसका लागि सम्पूर्ण मिडियाकर्मीहरुप्रति आभार प्रकट गर्न चाहन्छौं ।

प्राधिकरणको स्थापना : मधेश प्रदेशको पत्रकारिता क्षेत्रकोे विकास एवम् प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड गठन गरेको गरेको छ । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत रहने गरी तत्कालीन मुख्यमन्त्री मा. लालबाबु राउतज्यूको अध्यक्षतामा २०७७ माघ २३ गते बसेको मन्त्री परिषद्को बैठकको निर्णयबाट प्राधिकरणको अध्यक्षमा श्री श्यामसुन्दर यादव, काउन्सिलको अध्यक्षमा श्री शिवहरि प्रसाद भट्टराई र चलचित्र बोर्डको अध्यक्षमा धर्मेन्द्र कुमार मोरबैतालाई नियुक्त गर्ने निर्णय गरियो । तत्पश्चात प्राधिकरणको सदस्यमा श्री अमरेन्द्र कुमार यादवज्यू र श्री प्रतिमा चौधरीज्यूलाई नियुक्त गरियो ।

प्रदेश सञ्चार सम्वन्धी ऐन २०७७ ले प्राधिकरणलाई अविच्छिन्न उतराधिकारीवाला स्वशासित र सङ्गठित संस्थाको रुपमा परिकल्पना गरेको छ । आमसञ्चारमाध्यमको इजाजत, अभिलेखीकरण, अनुगमन, नियमन, पत्रकारिता पेशालाई व्यवसायिक, मर्यादित बनाउन आवश्यक नीति, योजना तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्ने, सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुको प्रवद्र्धन, क्षमता अभिवृद्धि, प्रशिक्षण, सेवा सुविधा, प्रेस प्रतिनिधिको नियमनसहितका विषयहरु आमसञ्चार प्राधिकरणको कार्यक्षेत्रभित्र पर्दछ । तर ऐन र नियमावलीमा प्रावधानहरु स्पष्ट नहुँदा काम गर्नमा कठिनाई भोग्नुपरेको छ ।

प्रदेश सरकारको परिकल्पनालाई मूर्त रुप दिन प्राधिकरणका अध्यक्ष सहितका पदाधिकारी, उपलब्ध कर्मचारीहरुले भरमग्दूर प्रयास गर्दैआएका छन् । प्राधिकरणका पदाधिकारी बैठकले र विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै आए पनि नयाँ संरचना, त्यसमा पनि कर्मचारी अभाव, समयमा बजेटको अख्तियारी नआउनु, त्यसमा पनि सञ्चार सम्बन्धी ऐन र नियमावली त्रुटी एवम् अधिकारको सिमितता लगायतका समस्याहरुले गर्दा चाहेर पनि शुरुका दिनहरुमा काम अगाडि बढ्न नसकेको तीतो अनुभव सँगालेका छौं । यद्यपी आर्थिक वर्ष २०७८/०७९ वर्षको शुभारम्भसँगै आन्तरिक मामिला तथा सञ्चारमन्त्रीमा मा. भरत प्रसाद साहज्यू र राज्यमन्त्री मा. रुबी कुमारी कर्णज्यू नियुक्त भएपछि पुसमा बजेटको अख्तियारी आएपछि हामीले गतिविधिहरुलाई तिब्रता दियौं । अत्यन्तै न्यून बजेटका बीच केही महत्वपूर्ण कामहरु गर्न सफल भयौं ।

चालु आ.व. अर्थात २०७९/०८० मा समेत त्यही समस्या दोहोरिएको छ । लोककल्याणकारी विज्ञापन सम्बन्धी बजेट र वार्षिक बजेट माघ महिनाको अन्तिममा आईपुग्दा पनि प्राधिकरणलाई पठाईएको छैन । आमसञ्चार प्राधिकरणलाई स्वायत संस्थाको रुपमा परिकल्पना गरिए पनि ऐन र नियमावलीले स्वायत भनिए पनि परनिर्भर बनाईएको छ । संकुचित ऐन र नियमावली आफैमा बाँझिनुले प्राधिकरण लगायतका निकायहरुलाई सहज रुपमा काम गर्न सक्ने अवस्था छैन । पाईला पाईलामा समस्या झेल्नु परेको छ । प्रशासकीय प्रमुख १, ईलेक्ट्रोनिक्स कम्युनिकेशन ईन्जिनियर १, नायब सुब्बा १, सहलेखापाल १, सवारी चालक १, कार्यालय सहयोगी २ गरी कुल सात जनाको दरबन्दी छ । तर ईलेक्ट्रोनिक्स कम्युनिकेशन ईन्जिनियर १, सवारी चालक १ र कार्यालय सहयोगी २ जना करारमा छन् । हाल थप जिम्मेवारीका प्रशासकीय प्रमुख र सहलेखापालबाट काम चलाउनु परेको अवस्था छ । कर्मचारी अभावले गर्दा प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा रहे पनि कर्मचारीले गर्नुपर्ने कामहरु आफै गरेर भए पनि सेवा प्रवाहलाई निरन्तरता दिएका छौं । यद्यपी हामीले सञ्चारकर्मी र सञ्चारमाध्यमको सबलीकरणका लागि अनुभूति हुने गरी पाइला अघि सारेका छौं ।

प्राप्त जिम्मेवारी पूरा गर्न मैले आजको दिनसम्म कुनै कसर बाँकी राखेको छैन । यसमा बोर्ड सदस्यद्वय श्री अमरेन्द्र कुमार यादव र श्री प्रतिमा चौधरीको साथ र सहकार्यले अगाडि बढ्न थप प्रेरित गरेको छ । यहाँसम्म कि कर्मचारी अभावका कारण आफैले कर्मचारीले गर्नुपर्ने कामहरु गरेर भए पनि प्राधिकरणलाई मधेश प्रदेशका निकायहरु भन्दा आफुलाई फरक रुपमा उभ्याउन हामी सफल भएका छौं । नव नियुक्त मुख्यमन्त्री मा. सरोजकुमार यादवज्यू, गृह तथा सञ्चारमन्त्री मा. शत्रुधन प्रसाद सिंहज्यू र राज्यमन्त्री मा. केशव रायज्यूसहित मधेश प्रदेश सरकारबाट थप सहयोग हुने अपेक्षा राखेका छौं ।

प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाए यता हालसम्मको कार्यअवधीलाई आफैले समिक्षा गर्दा न्यून बजेट र कर्मचारी अभावका बीच उदाहरणीय कामहरु गरेका छौं । २०७७ मा कोभिड १९ को कहर रहेको अवस्थामा पनि प्राधिकरणको अगुवाई तथा तथा मिडिया काउन्सिल समेतको सहकार्यमा मधेश प्रदेशका आठ ओटै जिल्लाका नेपाल पत्रकार महासंघका शाखाहरुमा पुगेर पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गरायौं । पदस्थापन त के करिब साढे महिनासम्म हामी कतै बस्ने ठाउँसम्म थिएन । मन्त्रालयको उपसचिवको कोठामा रहेको सोफामा बस्थ्यौं । काउन्सिल अध्यक्ष मधेश स्व. शिवहरि प्रसाद भट्टराई र म प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादव त्यहाँ बस्ने गरेका कारण आलोचित पनि भयौं । तै पनि त्यहीबाट हामीले लेटरप्याड, कार्यालयको छाप बनाई कार्यालयको लागि कोठा भाडामा लिन सूचना प्रकाशन गरी कार्यालय व्यवस्थापनतिर लाग्यौं । एक जना आठौं तहका अधिकृतले तीन ओटै कार्यालय हेर्ने गरी जिम्मेवारी तोकेको थियो । एकवर्षमा कार्यालय प्रमुखलाई हामीले जम्मा सात दिन मात्र हेर्न पायौं । जति आग्रह गर्दा पनि कार्यालय नआउने अवस्था थियो ।

त्यसपछि चिट्ठी पत्र पठाउनुपर्दा आफै तयार गरेर कार्यालय प्रमुख बसेको ठाउँमा हस्ताक्षर गर्नका लागि पठाउँथ्यौं । कार्यालयमा दुई जना सहयोगी र एक चालक मात्र थियो । असार ११ गते मात्र खाता सञ्चालनमा आयो । जेनतेन कार्यालय व्यवस्था गर्यौं । नियमावलीमा रहेको त्रुटीका कारण चाहेर पनि कतिपय कामहरु अझैं गर्नसक्ने अवस्था छैन । यहाँसम्म कि निकायका अध्यक्षहरुको मर्यादाक्रमको विषयमा नियमावलीले बोलेको थिएन । त्रुटी सच्याउन गरिएको संशोधन पनि पुनः त्रुटी लिएरै आयो । यो विषयमा धेरै चर्चा गर्न उपयुक्त ठान्दिन ।

२०७८ साउनका पहिलो सातामै मन्त्री परिषद् पुनर्गठन हुँदा विभागीय मन्त्रीमा मा. भरत प्रसाद साहज्यू र राज्यमन्त्रीमा रुबी कर्णज्यू नियुक्त हुनुभयो । नयाँ आशा पलाएर आयो । तर सङ्घीय कर्मचारीको ढिलासुस्तीका कारण आर्थिक वर्षको छैठौं महिनामा कार्यालयमा बजेटको अख्तियारी आयो । काम अगाडि बढाउन खोज्यौं तर हस्ताक्षरसम्म गर्नका लागि कार्यालय प्रमुख थिएन । कर्मचारीका लागि के कति कठिनाई झेल्यौं भने कुरा यहाँ लेख्न साध्य छैन । जे होस् प्राधिकरणमा थप जिम्मेवारीका प्रशासकीय प्रमुख र सहलेखापालबाट कामहरु अगाडि बढाएका छौं । अहिले दरबन्दीका एक जना पनि कर्मचारी छैन ।

जेजस्तो समस्या आए पनि जोखिम मोलेर हामीले द्रुत गतिमा काम अगाडि बढायौं । प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ र मधेश प्रदेश पत्रकार स्व स्वास्थ्य र दुर्घटना बीमा सम्बन्धी कार्यविधि २०७९ मन्त्री परिषद्बाट पारित गराउन सफल भएका छौं । दुवै कार्यविधिहरु हाल कार्यान्वयनमा आईसकेको छ । कार्यविधि अनुसार अत्यन्त कम समयका बावजुद पनि मधेश प्रदेशका केही बाहेक एफ.एम. रेडियो र टेलिभिजनहरुले लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी पाईसकेको र भुक्तानी हुन बाँकी पत्रपत्रिका लगायतका सञ्चारमाध्यमहरुको भुक्तानीका लागि प्रयासरत छौं । उक्त भुक्तानी समेत उपलब्ध हुने आवश्वासन मधेश प्रदेश सरकारबाट पाएका छौं । यसैगरी छोटो समयका बीच मधेश प्रदेशका १५० जना महिला पत्रकारहरुको बीमा गरिएको छ ।
आ.व. २०७७/०७८ मा गरिएका गतिविधिहरु :
१. आमसञ्चार प्राधिकरणको समन्वय तथा सामुदायिक रेडियो प्रशारक संघको आंयोजनमा २०७८ फागुन २० गते सामुदायिक रेडियोको समस्या र समाधान विषयक ‘कार्यशाला गोेष्ठी’ आयोजना ।
२. कार्यालय स्थापना एवम् व्यवस्थापन (२०७८ जेठ)
३. कोभिड–१९ संक्रमणको जोखिमबाट जोगिनका लागि २०७८ जेठ १० देखि १८ गतेसम्म आठ ओटै जिल्लामा स्वास्थ्य सुरक्षा सामग्री वितरण ।
४. सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुको हक हितबारे सरोकारवालाहरुसँग चार ओटा जुम मिटिङ्ग । प्रदेशका सञ्चारकर्मीहरुसँग निरन्तर सम्पर्क समन्वय एवम् पहल ।
आ.व. २०७८/०७९ मा गरिएका गतिविधिहरुः
१. जनकपुरधाममा २०७८ माघ १६–१७ गते राससका पत्रकारहरुको अभिमुखिकरण ।
२. माघ १८ गते पत्रकारहरुको स्वास्थ्य बीमा सम्बन्धी अन्तरक्रिया ।
३. चैत्र २८ गते सर्लाहीको लालबन्दीमा पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा तथा लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि मस्यौदा उपर अन्तरक्रिया ।
४. वैशाख १५ गते जनकपुरधाममा सञ्चारमाध्यम र पत्रकारहरुको हित प्रवद्र्धन गर्ने कानूनबारे छलफल एवम् विमर्श ।
५. जेठ १३ गते शुक्रबारदेखि अनलाइन सञ्चारमाध्यम दर्ता एंवम् नवीकरण कार्य सञ्चालन ।
६. आमसञ्चार प्राधिकरणको वेबसाइट सञ्चालन एवम् अपडेटिङ्ग ।
७. आमसञ्चार प्राधिकरणको आयोजन तथा नेपाल पत्रकार महासंघ शाखा धनुषाको समन्वयमा जेठ ३० गते पत्रकारहरूको लागि एक दिवसीय अभिमुखिकरण कार्यक्रम ।
८. जेठ ३१ गते महोत्तरीको बर्दिबासमा मधेश प्रदेशमा महिला पत्रकारहरुको समस्या र समाधान विषयक एक दिवसीय अन्तरक्रिया ।
९. सप्तरीको राजविराजमा पाँच दिवसीय अनलाइन पत्रकारिता तालिम असार १०– १४ गते सम्पन्न ।
१०. असार १६ गते मधेश प्रदेश सरकारको मन्त्री परिषद्बाट मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ एवम् पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा सम्बन्धी कार्यविधि २०७९ पास गराउन सफल भएको ।
११. मधेश प्रदेशका सञ्चारमाध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराई भुक्तानी उपलब्ध गराई कार्यविधि कार्यान्वयन गराउन सफल भएको ।
१२. मधेश प्रदेशका जिल्लालाई कार्यक्षेत्र बनाउँदै आएका १५० जना पत्रकार महिलाहरुको रु. एक लाखको स्वास्थ्य र रु. सात लाखको दुर्घटना बीमा कार्य सम्पन्न । (जी टु जी सम्झौता)
१३. अनलाइन मार्फत प्राधिकरणको सेवा विस्तार गर्न सूचना व्यवस्थापन प्रणाली सम्बन्धी सफ्टवेयर निर्माण ।
१४. सूचना व्यवस्थापन विज्ञापन बोर्ड, सूचना तथा प्रशारण विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, बाग्मती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालय, हुलाक सेवा विभाग लगायतका निकायहरुसँग निरन्तर सहकार्य एवम् समन्वय ।
आ.व. २०७९/०८० मा गरिने गतिविधिहरु :
१. मधेश प्रदेशका आठ ओटै जिल्लाका पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा ।
२. घुम्ती टोली परिचालन गरी आठ ओटै जिल्लाका नेपाल पत्रकार महासंघसँग समन्वय गरी प्रेस प्रतिनीधि परिचयपत्र वितरण ।
३. लोककल्याणकारी विज्ञापनको व्यस्थित रुपमा वितरण एवम् नियमित भुक्तानी ।
४. प्रदेश एफ.एम. रेडियो तथा टेलिभिजन सम्बन्धी नियमावली निर्माण ।
५. पत्रकारिता तालिम निर्देशिका निर्माण एवम् प्रकाशन ।
६. मधेशको पत्रकारिता सम्बन्धी अनुसन्धान एवम् प्रकाशन ।
७. एकीकृत सूचना व्यवस्थापन कार्यक्रम ।
८. छापामाध्यमहरुको सबलीकरण सम्बन्धी कार्यशाला ।
९. एफ.एम. रेडियोहरुको सबलीकरण एवम् सुदृढिकरण सम्बन्धी कार्यशाला ।
१०. पत्रकार महिलाहरुका लागि साईबर सुरक्षा एवम् आत्मरक्षा सम्बन्धी प्रशिक्षण ।
११. बन्द रहेका एफ.एम. रेडियोहरुको अध्ययन एवम् कार्यशाला ।
१२. फोटो पत्रकारिता र कृषि पत्रकारिता सम्बन्धी तालिम ।
१३. पत्रकारिता अध्ययनका लागि छात्रबृती सम्बन्धी कार्यविधि निर्माण ।
१४. सूचना व्यवस्थापन प्रणाली सम्बन्धी सफ्टवेयर मार्फत अनलाइन सेवा प्रदान ।
१५. पत्रकारहरुका लागि श्रब्यदृष्य छायाङ्कन एवम् सम्पादन सम्बन्धी तालिम ।
१६.. उमा– वीरेन्द्र पत्रकारिता प्रशिक्षण केन्द्र सम्बन्धी सम्भाब्यता अध्ययन ।
आ.व. २०७९/०८० मा गरिएका गतिविधिहरु :
१. प्राधिकरणको कामकार्वाही तथा गतिविधिहरुबारे सार्वजनिकीकरण ।
२. समय अभावका कारण भुक्तानी हुन बाँकी रहेका सञ्चारमाध्यमहरुको विषयमा अनुगमन सहितको प्रतिवेदन विभागीय मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई पठाएको । निरन्तरको प्रयास पश्चात भुक्तानीको सुनिश्चितता गराएको ।
३. लोककल्याणकारी विज्ञापन वापतको भुक्तानीका लागि दैनिक ३६, साप्ताहिक ५३, मासिक २, एफ.एम. रेडियो २० र २ ओटा टेलिभिजनको नाम अनुगमन समितिबाट सिफारिस भएको ।
४. प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रशारण विभाग, विज्ञापन बोर्ड, हुलाक सेवा विभाग लगायतका निकायहरुसँग समन्वय एवम् सहकार्य ।
५. मधेश प्रदेशका आठ ओटै जिल्लाका एफ.एम.रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनहरुको अनुगमन एवम् छलफल ।
६. अनलाइन मिडिया दर्ता एवम् नवीकरण कार्यको निरन्तरता (२१ ओटा अनलाइन दर्ता)
७. जनशक्ति अभावलाई केही हदसम्म पूर्ती गर्नकालागि एम.आइ.एस सिस्टम सफ्टवेयर परीक्षण तथा क्यूआर कोड निर्माण ।

नयाँ संरचना खडा गर्दा शुरुका चरणहरुमा अझैं थुप्रै चुनौतिका चाङ्ग देखिएका छन् । न्यून श्रोत, साधन र जनशक्ति अभावका बीच चाहेर पनि तत्काल सबै समस्याहरुको सम्बोधन नहुँदा जटिलता एवम् असहजताको अनुभूति हुनुलाई नकार्न मिल्दैन । मसहित बोर्डका पदाधिकारीहरुले सञ्चारकर्मी र सञ्चारगृहहरुको हित प्रवद्र्धनका लागि अनुभूति हुने गरि कामहरु गर्ने प्रतिवद्धता व्यक्त व्यक्त गर्न चाहन्छु । मुख्यमन्त्री मा. सरोजकुमार यादवज्यू, विभागीय मन्त्री शत्रुधन प्रसाद सिंहज्यू, मन्त्री परिषद्का सदस्यज्यूहरु समेतबाट आगामी दिनमा प्राधिकरण विशेष सहयोग एवम् स्नेह पाउने आशा राखेका छौं ।

आजको विशेष दिनमा प्राधिकरणको तर्फबाट मधेश प्रदेश सरकार, गृह तथा सञ्चार मन्त्रालय, प्रेस काउन्सिल, सूचना तथा प्रशारण विभाग, बाग्मती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालय, मिडिया काउन्सिल, नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रशारक संघ, ब्रोडकास्टिङ्ग एसोसिएसन अफ नेपाल, प्रकाशक महासंघ नेपाल, टेलिभिजन एसोसिएसन, प्राधिकरणका सदस्यद्वय, सञ्चारकर्मी, सञ्चारगृह, अग्रज, सहकर्मी, शुभेच्छु, कर्मचारी, प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैप्रति कृतज्ञता सहित हार्दिक आभार एवम् धन्यवाद् । हाम्रो सामूहिक सत्प्रयासको यात्रामा सबै पक्षबाट अमूल्य सुझाव तथा मार्गदर्शन प्राप्त भइरहने विश्वास राखेका छौं ।

Author:



क्याटोगरी छान्‍नुहोस