मधेसकेन्द्रित पाँच दलबीच पार्टी एकता हुने

जनकपुरधाम । मधेसकेन्द्रित पाँच दलहरूबीच पार्टी एकता हुने भएको छ । सोमबार जनकपुरधाममा भएको ती दलहरूको संयुक्त बैठकले पार्टी एकता गर्ने विषयमा सहमति जुटाएको हो ।

तराई मधेस लोकतान्त्रिक पार्टीको जनकपुरधामस्थित केन्द्रीय कार्यालयमा भएको बैठकमा तराई–मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय सद्भावना पार्टीबीच एकता गर्ने सहमति भएको हो । यी पाँच पार्टीहरूबीच गत माघ १७ गते आपसमा एकता र सहकार्य गर्ने निर्णय भएको थियो ।

बैठकमा मधेसको मुद्दा कमजोर हुँदै गएकोले मधेसका मुद्दालाई स्थापित गराउन सबै पार्टीको मुख्य उद्देश्य रहेकोले पार्टी एकता गर्ने सहमति भएको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले जानकारी दिए ।

तमलोपाका वरिष्ठ नेता डा.विजय कुमार सिंहको अध्यक्षतामा बसेको बैठकले पार्टीहरूबीच सहकार्यका निमित्त साझा मुद्दाहरूको पहिचान गर्ने, सहकार्यको निमित्त अवधारणापत्र र अन्य दस्तावेज तयार गर्न कार्यदलसमेत गठन गरेको नेता उनले बताए ।

कार्यदलमा तमलोपाबाट सतीश लाल दास, नेपाल सद्भावना पार्टीबाट डा. रवीन्द्र चौधरी (राजेश), नेपाल लोकतान्त्रिक पार्टीबाट डा. कृष्ण चन्द्र साह, राष्ट्रिय सद्भावना पार्टीबाट रवीन्द्र सिंह र ऐतिहासिक जनता पार्टीबाट आनन्द साह रहेका छन् ।

बैठकमा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुर, नेपाल लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष सुरेश प्रसाद गुप्ता, राष्ट्रिय सद्भावना पार्टीका प्रवक्ता राजेश्वर ठाकुरलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस