एनआईसी एसिया बैंकको ‘स्क्याम’ प्रकरण : नाम छोपछाप गर्न दिपेन्द्रले गरे ७० लाख अफर !

राजविराज, २ फागुन । एनआईसी एसिया बैंक शाखा राजविराजले किर्ते जग्गा धितोमा राखेर पौने ३ करोड रुपैयाँ ऋण दिएको प्रकरणका मुख्य योजनाकार सनराइज बैंक शाखा राजविराजका वरिष्ठ सहायक दिपेन्द्र यादवले आफ्नो नाम छोपछाप गर्न ७० लाख रुपैयाँ ‘अफर’ गरेको रहस्य खुलेको छ ।

गत विहिवार घटना बाहिरिएसँगै सम्पर्कविहिन भएका व्यवसायी मो.समसाद दुई दिनपछि मिडियाको सम्पर्कमा आएका थिए । सम्पर्कमा आएसँगै उनले किर्ते जग्गाधनि प्रमाण–पत्र तयार गर्नेदेखि पैसा लिएर ऋण स्वीकृत गराउनेसम्मको नाम खुलाएपछि वरिष्ठ सहायक यादवले आफ्नो नाम छोपछाप गर्न मो.समसादलाई ७० लाख रुपैयाँ ‘अफर’ गरेका हुन् । ‘मलाई वाट्स एपमा कल गरेर मेरो नाम नल्याइदिनु भन्दै सो वापत दोब्बर रकम दिन्छु भन्दै थियो तर मैले मानिन्, मैले प्रमाणको आधारमा सही सत्य कुरा बोलेको हुँ’ मो.समसादले भने, ‘म त गलत गरेकै हो तर फेरी गुनाह गर्न चाहन्नँ, नक्कली फायल तयार गराए वापत उनलाई मैले ३५ लाख रुपैयाँ दिएको थिए ।’

यादवको प्रस्ताव अस्वीकार गरेपछि अहिले फरक–फरक नम्बरबाट फोन गरेर तनाब दिँदै आएको समसादको कथन छ । ‘धम्क्याउने प्रयासमा छन्, मलाई खतरा महसुस भएरै लुक्नु परेको छ’ उनले भने, ‘उनीहरुमाथि कारबाही सुरु भएसँगै म पनि सिरेण्डर (आत्मसर्मपन) गरिहाल्छु ।’

उनका अनुसार मुख्य योजनाकार दिपेन्द्रले लेखापढी व्यवसायी शंकर यादव र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटर दिपक शर्मासँग मिलेर जग्गाधनि प्रमाण–पत्रदेखि अन्य सबै सरकारी कागजात किर्ते गरेर सो ‘स्क्याम’ गराएका हुन् ।

सो वापत ३५ लाख रुपैयाँ लिएको र घटना बाहिरिएको अघिल्लो दिनसम्म पनि दिपेन्द्रले थप १५ लाख माग्दै आएको समसादले बताए । ‘घटना बाहिरिनलाग्दा दिपेन्द्रले नै फोन गरेर आफुलाई फरार हुन सल्लाह दिएको थियो, म कारबाही भोग्न तयार छु तर दिपेन्द्र र अन्यलाई पनि कारबाहीको दायरामा ल्याइयोस्’ उनले भने ।

श्रोतका अनुसार एनआईसी एसिया बैंक शाखा राजविराजका प्रबन्धक संतोशकुमार यादवले पनि सो ‘स्क्याम’ मा दिपेन्द्रलाई सघाएका हुन् । ‘प्रबन्धक संतोशले मोटो रकम लिइ माथिल्लो तहका कर्मचारीलाई झुक्याएर फर्जी जग्गामा लोन स्वीकृत गराए’ श्रोतले भन्यो ।

अर्कैको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को १० कठ्ठा ५ धुर जग्गाको राजविराज नगरपालिका–९ (तत्कालिन मलेठ गाविस वडा नं.७) की वसिरन खातुनलाई नक्कली जग्गाधनि बनाएर गत आइतवार (माघ २२) गते नक्कली जग्गा रोक्का कागजात पारेर रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा रोक्का गरेका छन् भने घरेलु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजमा माघ ९ गते नै खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता भएको एएस ट्रेडर्स एण्ड सप्लायर्सको खातामा ऋण प्रवाह गरिएको छ ।

माघ २२ गते जग्गा रोक्का भएसँगै शाखाका प्रबन्धक यादवले स्वीकृत ऋण २ करोड ८० लाख रुपैयाँमध्ये माघ २४ गतेसम्ममा २ करोड ३० लाख रुपैयाँ निकासा समेत दिइसकेका छन् । उक्त घटना बाहिरिएसँगै बुधवार र बिहिवार सम्पर्कविहिन रहेका शाखाका प्रबन्धक यादवसँग सोमवार सम्पर्क भएको छ । उनले दिपेन्द्रसँग आफ्नो खासै चिनजान नरहेको तथा आवश्यक कागजातसहित धितोमा राखिएको जग्गा प्रदेशका टोलीले समेत स्थलगत रुपमै अवलोकन गरेपछि ऋण स्वीकृत भएको बताए ।

उता, घटना बाहिरिएकै दिनदेखि दिपेन्द्र सम्पर्कविहिन छन्। सनराइज बैंक राजविराज शाखाका प्रबन्धक मुकेश कुमार साहले पनि हाल उनी आफुहरुको सम्पर्कमा नरहेको बताए । ‘त्यस्तो कुरा आइसकेपछि मैले केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको छु, अहिले उहाँ मसँग पनि सम्पर्कमा छैन्’ उनले भने, ‘उहाँ वार्षिक विदाबाट कटौती हुने गरी १० दिनको विदामा रहनुभएकोले कार्यालय पनि आउनुभएको छैन् ।’

एनआईसी एशिया बैंक केन्द्रीय कार्यालयका असिष्टेन्ट जेनेरल म्यानेजर अर्जुनराज खनियाले हालसम्म बैंकको पैसा फिर्ता भइसकेको बताए । ‘बैंकको पैसा रिकोभरी भइसकेको छ, चौकीदार नै चोर भएपछि यस्तो घटना हुन्छ, अब हामी मुद्दा प्रक्रियामा जान्छौं’, उनले भने।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सरकारी कागजात किर्ते सम्बन्धी मुद्दामा अघि बढ्न निर्देशन दिएसँगै भूमिसुधार तथा मालपोत कार्यालय राजविराजले छानबिनका लागि प्रहरीमा निवेदन दर्ता गर्ने तयारी थालेको छ ।

यो पनिः

एनआईसी एसिया बैंक राजविराज : नक्कली धितो जग्गामा पौने ३ करोड ऋण, प्रबन्धक सम्पर्क विहिन

एनआईसी एसिया बैंकको ‘स्क्याम’ : सनराइज बैंकका वरिष्ठ सहायक दिपेन्द्र मुख्य योजनाकार

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780