‘महुली लघुवित्तको अत्याचार सहन नसकेर आत्महत्या’

राजविराज – सप्तरीको कञ्चनरुप नगरपालिका–९ की ५८ वर्षीया शान्ता भुजेल रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् । लघुवित्तले गरेको अत्याचार सहन नसकेर शान्ताले आत्महत्या गरेको परिवारको दाबी छ ।

आईतवार घरबाट आफन्त भेट्न धरमपुर गएको उनी सोमबार बिहान घरभन्दा करिब २ सय मिटर पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । परिवारका अनुसार ८ वटा लघुवितबाट गरी १३ लाख ३५ हजार रुपैयाँ ऋण लिएका उनी घरबाट सबै समान लघुवित्तका कर्मचारीले लिएर गएपछि तनावमा थिइन ।

घरमा पैसाको अभाब भएपछि शान्ताले दुई एउटा लघुवित्तबाट कर्जा लिएकी थिइन । पछि छोरीको बिहे गर्न चार वटा लघुवित्तवाट कर्जा लिएकी थिइन । ‘एक साता अगाडी महुली लघुवित्त वित्तीय संस्था लिमिटेडबाट आएका कर्मचारीले घरको सबै समान लागेपछि उनी निकै तनाबमा थिइन’ उनका पति भिम बहादुर भुजेलले भने, ‘घरमा रहेको खाट, दराज, कपरा, भाडाकुडा लगायत सबै समान लागेपछि खाना बनाउन र सुत्न पनि कढिन भइरहेको थियो ।’

आफु पनि बाहिरै एक जना सरको होटेल रात कटाएको उनको दुखेसो छ । ‘छिमेकीले फोन गरेपछि म पनि आज विहान घर फर्किए’ उनले भने, ‘छोरा पनि विदेशमा छन्, लघुवित्तले सबै समान लागेपछि बुहारीलाई माइती जानुपर्यो ।’

लघुवित्तका कर्मचारीलाई ऋण फछ्र्यौट गर्न थोरै समय माग्दा समेत नदिएको र समान लग्दा तनाव सहन नसकेर आत्महत्याको बाटो रोज्न बाध्य बनाएको उनको कथन छ । ‘लघुवित्तले हामीमाथि अत्याचारै गरेछ, आत्महत्या बाहेकको बाटो नै रहन दिएन’ उनले भने, ‘गरिबको बोली सुनिदिने पनि कोही भएन र अनयासै ज्यान गुमाउनु पर्यो ।’

छिमेकी जानुका भूजेलले पनि लघुवित्तले धेरै नै अत्याचार गरेको बताए । ‘अस्ति म पनि थिए, जतिखेर महुली लघुवित्तका कर्मचारीहरु शान्ताको घरमा आएको थियो’ उनले भनिन्, ‘शान्ताले कर्जा तिर्छु भन्दै अलि समय दिनु भनेकै हो तर कर्मचारीहरुले मानिदिएन । उसको घरमा रहेको सबै समान लिएर गयो ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले सो घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

उता, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी निर्देशक गंगाधर पाण्डेले आफ्ना कर्मचारीले त्यस्तो कार्य नगरेको दावी गरे । ‘त्यस्तो कार्य आफ्नो संस्थाबाट भएको छैन, संस्थालाई बदनाम गर्न खोजियो’ उनले भने, ‘यद्यपी, त्यस्तो कार्य गरेको पाइए कारबाही हुन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस