विचौलियाविरुद्ध सप्तरीका सिडिओ थापाको ‘एक्सन’

राजविराज – जिल्ला प्रशासन कार्यालय सप्तरीमा विचौलिया प्रवेशमा कडाइ गरेको छ । केही समय यता विचौलियाका कारण सेवाग्राहीलाई सास्ती भइरहेको पाइएपछि कार्यालयमा विचौलिया प्रवेशमा कडाइ गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापाले गैरकानूनी कार्यमा संलग्न राष्ट्रसेवक तथा विचौलियालाई प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनीसहित कार्यालयमा सूचना नै टाँस गरेका छन् भने कडाइ गरेसँगै एक जना विचौलियालाई समेत नियन्त्रणमा लिइएको छ । गत बुधवार नियन्त्रणमा लिइएका विचौलियामाथि कैद र जरिवाना हुने गरी कार्यालयले मुद्दा नै चलाएको हो ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका–५ का नारायण पासवानलाई नियन्त्रणमा लिई राष्ट्रसेवकलाई बाधा विरोध कसूरमा मुद्दा चलाइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । सो मुद्दामा कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी प्रावधान रहेको छ ।

कार्यालयमा टाँस गरिएको सूचनामा कुनै कर्मचारी वा विचौलियाले घुस मागेमा प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न भनिएको छ । ‘यस कार्यालयमा कुनै पनि सेवा लिदा कर्मचारी वा विचौलियाले कुनै पनि किसिमको अनुचित लाभ, पैसा वा अन्य कुनै किसिमको घुस मागेमा तुरुन्तै प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्वर ९८५२८५७७७७ मा फोन गर्नुहोला’ सूचनामा भनिएको छ, ‘यस्तो गैरकानूनी कार्यमा संलग्न राष्ट्रसेवक तथा विचौलियालाई प्रचलित कानून बमोजिम कारबाही गरिने व्यहोरा सूचित गरिन्छ ।’

भारतमा किर्ते नेपाली नागरिकता बनाएकी महिला पक्राउ

भारतको नयाँ दिल्लीमा किर्ते नेपाली नागरिकता बनाएकी सप्तरीकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जिल्लाको तत्कालिन फत्तेपुर गाविस–३ की अनिता नेपाली रहेकी छन् । माघ २४ गते मंगलबार रेकर्ड प्रमाणित गराउनका लागि जिल्ला प्रशासन कार्यालय आएकी नेपालीसँग रहेको नागरिकतामा कार्यालयको विवरणअनुसार जन्ममितिसहितका विवरणहरु फरक परेपछि उनलाई पक्राउ गरिएको छ ।

नेपालीको प्रारम्भिक वयानअनुसार उनले नयाँ दिल्लीमा एजेन्ट मार्फत सो नागरिकता लिएकी थिइन । नेपालीले बोकेको किर्ते नागरिकतामा २०४७ असार १७ गते जन्ममिति उल्लेख रहेको छ भने कार्यालयको विवरणअनुसार २०४१ साउन ४ गते जन्ममिति उल्लेख रहेको छ ।

दुवै नागरिकतामा नागरिकता प्रमाण–पत्र नम्वर र जारी मिति पनि फरक देखिएको छ । २०६४ जेठ २३ गते जारी भएको किर्ते नागरिकता प्रमाण–पत्र नम्वर ६१९०७३ रहेको छ भने विवरणअनुसार २०६५ कातिक ४ गते जारी भएको नागरिकताको प्रमाण–पत्र नम्वर १६१०११/१६८ रहेको पाइएको छ ।

नेपालीलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको जनाएको छ । उता, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले नेपालीमाथि थप अनुसन्धान भइरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780