एनआईसी एसिया बैंकको ‘स्क्याम’ प्रकरण : कीर्ते जग्गा धितो राखेर ऋण दिएको व्यवसाय पनि फर्जी

राजविराज, ५ फागुन । एनआईसी एसिया बैंक शाखा राजविराजले किर्ते जग्गा धितो राखेर पौने ३ करोड रुपैयाँ ऋण दिएको प्रकरणमा थप नयाँ रहस्य खुलेको छ । नेपाल समाचारपत्रलाई प्राप्त भएको प्रमाणअनुसार बैंकले ऋण प्रवाह गरेको व्यवसाय नै कागजमा मात्रै रहेको पाइएको हो ।

राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गाधनि प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालिन मलेठ गाविस वडा नं.७) की वसिरन खातुनलाई नक्कली जग्गाधनि बनाइएको थियो । सोही जग्गाधनि प्रमाण–पत्रको आधारमा गत माघ २२ गते बैंकले रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरेको छ भने गत माघ ९ गते घरेलु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजमा खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता भएको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’ लाई स्वीकृत गरेको २ करोड ८० लाख ऋणमध्ये २ करोड ३० लाख रुपैयाँ खातामा पठाइएको थियो ।

गत माघ २६ गते नेपाल समाचारपत्रले एनआईसी एसिया बैंक शाखा राजविराजका प्रबन्धक संतोशकुमार यादवले नै केही व्यवसायी र अन्य बैंकका कर्मचारीसँग मिलेर ‘स्क्याम’ गरेको विषयमा समाचार सार्वजनिक गरेसँगै हाल बैंकको केन्द्रीय कार्यालयले ऋण रकम फिर्ता पाउने कार्यमा लागेको छ । घटना बाहिरिएसँगै सम्पर्कविहिन भएका व्यवसायी मो.समसाद नै पछि नेपाल समाचारपत्रको सम्पर्कमा आएर ‘स्क्याम’मा संलग्नहरुको पोल खोलेका छन् ।

सोही क्रममा आसमा खातुनको नाममा २०७९ माघ ९ गते ६१९२९२९४६ पान नम्वर रहेको कागजमा मात्रै देखिएको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’लाई ऋण दिएको खुलेको हो । एएस ट्रेडर्स एण्ड सप्लायर्सलाई ऋण दिँदै गर्दा योजनाअनुसार मो.सदामको नाममा २०७३ असार १३ गते ६०४७९४१८७ पान नम्वरमा दर्ता रहेको ‘एएस मोवाइल सेन्टर एण्ड जेनरल स्टोर्स’कै स्टोक देखाएको पाइएको छ । मो.सदाम आसमा खातुनका पति हुन् ।

एएस मोवाइल सेन्टर एण्ड जेनरल स्टोर्सका सञ्चालक मो.सदामले सो विषयमा कुरा गर्न चाहेन । ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स मो.समसादको नाममा छ’ अनि बैंकलाई तपाईको नाममा रहेको एएस मोवाइल सेन्टर एण्ड जेनरल स्टोर्स किन देखाउनुभयो त? भन्ने प्रश्नमा मो.सदामले भने, ‘म फोनमा कुरा गर्दिन, तपाई भेटेर कुरा गर्नु ।’ तर त्यसपछि फोन उठाएन ।

उता, ‘स्क्याम’ का मुख्य योजनाकार सनराइज बैंक शाखा राजविराजका वरिष्ठ सहायक दिपेन्द्र यादव अझैं सम्पर्कविहिनै छन् । दिपेन्द्रले नै लेखापढी व्यवसायी शंकर यादव र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटर दिपक शर्मासँग मिलेर जग्गाधनि प्रमाण–पत्रदेखि अन्य आवश्यक सरकारी कागजात किर्ते गरेर सो ‘स्क्याम’ गराएका हुन् भने एनआइसी एसिया बैंक शाखा राजविराजका प्रबन्धक यादवसँग मिलोमलो गरी किर्ते जग्गा धितो राखेर कागजमा मात्रै रहेको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’लाई ऋण स्वीकृत गराएको श्रोतले बतायो । ‘त्यसमा राजविराज शाखाका प्रबन्धकदेखि प्रदेशका कर्मचारीहरुले मोटो रकम लिएका छन्, त्यति रकम स्वीकृत गर्नमा प्रदेशकै भूमिका हुन्छ’, श्रोतले भन्यो ।

एनआइसी एसिया बैंक केन्द्रीय कार्यालयका असिष्टेन्ट जेनेरल म्यानेजर अर्जुनराज खनियाले छानबिनको प्रक्रियामै रहेको बताए । ‘त्यो पाटोमा हामी गइसक्या छैन, गएपछि मात्र भन्नसक्छौं, कसले कतिसम्म लोन स्वीकृत गर्न पाउने हो’ नेपाल समाचारपत्रसँग उहाँले भन्नुभयो, ‘अहिलेसम्म सबै लोन रिकभरी भइसकेको छ, अन्य प्रक्रिया अब सुरु हुन्छ ।’

आवश्यक कारबाही गर्न प्रहरीलाई पत्राचार

‘स्क्याम’ बाहिरिएको एक सातापछि भूमिसुधार तथा मालपोत कार्यालय राजविराजले आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीलाई पत्राचार गरेको छ । ‘घटनाबारे हामीले फागुन २ गते जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिसकेका छौं’ भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका निमित्त प्रमुख रामनारायण शर्माले भने, ‘घटनामा संलग्न भनिएका हाम्रो कर्मचारीलाई पनि सोही दिनदेखि नै काम गर्न रोक समेत लगाइसकेका छौं ।’

यता, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भूमिसुधार तथा मालपोत कार्यालय राजविराजबाट आएको पत्र प्रहरीमा पठाइसकेको बताए । ‘पत्रिकामा आएका समाचारका कटिङहरु संलग्न राखि भूमिसुधार तथा मालपोत कार्यालय राजविराजबाट आवश्यक कारबाहीका लागि आएको पत्र प्रहरीमा पठाइसकेका छौं, उनले भने ।

यद्यपी, सो पत्र प्रहरीसमक्ष अझैंसम्म पुगेको छैन् । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले बैंकसँग सम्बन्धित कुनै पत्र आइनसकेको बताए । नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780