चुरे दोहनप्रति पूर्वराष्ट्रपतिको चिन्ता

जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुरे दोहन र मधेसको शिक्षास्तर निकै कमजोर भएको प्रति चिन्ता व्यक्त गरेका छन् । बिहीबारदेखि जनकपुरधाममा सुरु भएको ‘जनकपुर साहित्य महोत्सव’को चौथौ संस्करण उद्घाटन सम्बोधनमा पूर्वराष्ट्रपति यादवले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

मधेसको लाइफलाइन मानिएको चुरेको दिनप्रतिदिन दोहन बढ्दै गएको उल्लेख गर्दै उनले भने, ‘चुरे दोहनलाई समयमा नियन्त्रण गर्न सकिएन भने मधेस मरुभूमिमा परिणत हुन धेरै वर्ष कुर्नुपर्दैन । त्यसकारण यसको संरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक छ ।’

उनले कुनै समय जनकपुरधामको शिक्षाको गुणस्तर काठमाडौंभन्दा राम्रो रहेको स्मरण गर्दै उनले वर्तमानमा गुणस्तर निकै खस्किएको बताए । शिक्षाको गुणस्तर उकास्न सामाजिक स्तरबाट पहल हुनुपर्ने उनको भनाइ छ । फरक प्रसंगमा उनले मुलुकमा लोकतन्त्रको घाँटी निमोठ्ने काम भएको भन्दै युवापुस्तालाई अगाडि आउन आह्वान गरे ।

‘अमेरिकाको दुई सय ४० वर्ष इतिहासमा कसैले पनि लोकतन्त्रको घाँटी निमोठ्ने काम गरेका छैनन् । तर, नेपालमा लोकतन्त्रको घाँटी निमोठ्ने काम गरियो । त्यसैले युवा पुस्तालाई लोकतन्त्र बचाउन सक्रिय हुनुपर्छ,’ उनले भने । बिहीबारदेखि सुरु भएको ‘जनकपुर साहित्य महोत्सव’ शनिबार सम्पन्न हुनेछ । महोत्सवको यो चौथो संस्करण हो । विगतका वर्षभन्दा यस वर्षको महोत्सव पृथक् रहेको आयोजक संस्था नवमिथिला फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस