एनआईसी एसिया बैंकको ‘स्क्याम’ अनुसन्धान गर्न प्रहरीको ‘इन्ट्री’

राजविराज, १५ फागुन । एनआईसी एसिया बैंक शाखा राजविराजले किर्ते जग्गाधनि प्रमाण–पत्र धितो राखेर फर्जी व्यवसायमा पौने ३ करोड रुपैयाँ ऋण दिएको प्रकरणमा चारकिल्ला प्रमाणित कागजात पनि किर्ते नै रहेको खुलेको छ ।

गत माघ २६ गते सो बैंक शाखा राजविराजका प्रबन्धक संतोशकुमार यादव, केही व्यवसायी, अन्य बैंक र भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारी तथा लेखापढी व्यवसायी मिलेर ‘स्क्याम’ गरेको विषय खुलासा गरेको थियो । सो ‘स्क्याम’ प्रकरणमा वडा कार्यालयबाट दिइने चारकिल्ला प्रमाणित कागजात पनि किर्ते नै रहेको खुलेको हो ।

जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्वर ४ को कार्यालयबाट २०७९ माघ ९ गते लिइएको चारकिल्ला प्रमाणित कागजात बैंकमा ऋण दिँदा पेश गरिएको थियो । वडा कार्यालयको दर्ता चलानी नम्वर ६७७ उल्लेख गरी जारी भएको सो चारकिल्ला प्रमाणित कागजात किर्ते रहेको वडाध्यक्ष तेजनारायण यादवले स्पष्ट गरेका छन् । ‘हाम्रो वडा कार्यालयमा चारकिल्ला प्रमाणित हस्तलिखित नै भइरहेको छ तर यो कम्प्युटरबाट टाइप गरेर बनाइएको हो, यो चारकिल्ला हामीले दिएको होइन’ उनले भने, ‘हाम्रो लेटरप्याड, छाप र हस्ताक्षर किर्ते भएकोले आवश्यक कारबाहीको लागि प्रहरीमा पत्राचार गरेका छौं ।’

जिल्लाको राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्वर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गाधनि प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालिन मलेठ गाविस वडा नं.७) की वसिरन खातुनलाई जग्गाधनि बनाइएको थियो । सोही जग्गाधनि प्रमाण–पत्रको आधारमा गत माघ २२ गते बैंकले रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरेको छ भने गत माघ ९ गते घरेलु तथा साना उद्योग कार्यालय सप्तरी राजविराजमा खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता भएको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’ लाई स्वीकृत गरेको २ करोड ८० लाख ऋणमध्ये २ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरिसकेको थियो ।

‘स्क्याम’ बाहिरिएसँगै सम्पर्कविहिन भएका व्यवसायी मो.समसाद पछि नेपाल समाचारपत्रको सम्पर्कमा आएर संलग्नहरुको पोल खोल्नुभएको छ । ‘स्क्याम’ का योजनाकार सनराइज बैंक शाखा राजविराजका वरिष्ठ सहायक दिपेन्द्र यादव अझैं सम्पर्कविहिनै छन् ।

दिपेन्द्रले नै लेखापढी व्यवसायी शंकर यादव र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटर दिपक शर्मासँग मिलेर जग्गाधनि प्रमाण–पत्रदेखि अन्य आवश्यक सरकारी कागजात किर्ते गरेका छन् भने बैंक शाखा राजविराजका प्रबन्धक यादवसँग मिलोमलो गरी किर्ते जग्गा धितो राखेर कागजमा मात्रै रहेको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’लाई ऋण स्वीकृत गराएको श्रोतले बतायो । ‘त्यसमा राजविराज शाखाका प्रबन्धकदेखि प्रदेशका कर्मचारीहरुले मोटो रकम लिएका छन्, त्यति रकम स्वीकृत गर्नमा प्रदेशकै भूमिका हुन्छ’, श्रोतले भन्यो ।

उता, एनआइसी एसिया बैंक केन्द्रीय कार्यालयका असिष्टेन्ट जेनेरल म्यानेजर अर्जुनराज खनियाले सो विषयमा बैंकको आन्तरिक लेखा परीक्षण विभागको टोलीले छानबिन गरिरहेको बताए। ‘बैंकबाट गएको पैसा फिर्ता ल्याइसकेपछि छानबिन गर्न हामीले आन्तरिक लेखा परिक्षण विभागलाई जिम्मा दिएका छौं’ उनले भने, ‘शाखा प्रबन्धकसहितका ४–५ जना कर्मचारीलाई बिदामा बसाएर विभागले छानबिन गर्दैछ ।’

प्रहरीले सुरु गर्यो अनुसन्धान

बैंकमा भएको ‘स्क्याम’को विषयमा सप्तरी प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ । यसअघि माघ २९ गते प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको निर्देशनपछि भूमिसुधार तथा मालपोत कार्यालय राजविराजले सरकारी कागजात, छाप र हस्ताक्षर किर्ते भएको विषयमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो भने फागुन ११ गते अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्वर ४ को कार्यालयले पनि आवश्यक कारबाहीको लागि प्रहरीलाई पत्राचार गरेको छ ।

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले अनुसन्धान प्रक्रिया सुरु भइसकेको बताए । ‘मालपोतको पत्र हामीलाई प्राप्त भएसँगै अनुसन्धान प्रक्रिया सुरु भइसकेको छ’, उनले भने । आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780