विवादित बन्दै जनप्रतिनिधि : कतै मदिराले उन्माद त कतै सवारी मोह !

राजविराज – साता दिनअघि सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले दिउँसै मदिराले मातिएपछि कर्मचारीहरुलाई आन्दोलन नै गुर्नपर्यो । फागुन १७ गते बुधवार दिउँसो मदिरा सेवन गरेर आएका अध्यक्ष चौधरीले कार्यालयमा प्रवेश गरेर कर्मचारीहरुलाई गालीगलौज गरेको भन्दै उनीहरुले सूचना नै निकालेर गाउँपालिकाको सबै कामकाज ठप्प पारे ।

त्यसको दोस्रो दिन गाउँ कार्यपालिकाको बैठकबाट अव उपरान्त कर्मचारीहरुमाथि त्यस्ता खालका घटना हुन नदिनका लागि सबै पक्ष सचेत रहने प्रतिवद्धता आइसकेपछि गाउँपालिकाको कामकाज सुचारु भयो ।

पछिल्लो पटक आइतवार मात्रै जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारीहरु पनि जनप्रतिनिधिको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आन्दोलित भएका छन् । कर्मचारीहरुले संयुक्त रुपमा विज्ञप्ति नै जारी गरी जनप्रतिनिधिहरुले सार्वजनिक रुपमा चरित्र हत्या गरेको र अभद्र व्यवहार गर्ने गरेको आरोप लगाउँदै कामकाज ठप्प पारेका हुन् ।

‘विगत केही दिनदेखि यस स्थानीय सरकारको जनप्रतिनिधिबाट हजारौंको उपस्थिती रहेको सार्वजनिक कार्यक्रममै कर्मचारी असक्षम भएको भनि टिप्पणी गर्दै सार्वजनिक रुपमा चरित्र हत्या गरेको, कार्यपालिकाको बैठकमा बारम्बार कर्मचारीहरुप्रति विना कुनै कारण र तथ्य नदेखाई कारबाही गर्नुपर्ने प्रस्ताव पेश गर्ने, के कुन कारणले कारबाही गर्नेपर्ने हो? भन्ने उल्लेख नगरी निवेदन पेश गर्ने, मिति २०७९।११।२५ गते जनप्रतिनिधिहरुको समुहले कार्यलयमा आइ कार्यालय प्रमुख नरहेको बेला कार्यालय प्रमुखको गाडीको चालकलाई डरधाक देखाई गाडीको साँचो खोसेको नगर उपप्रमुखलाई जिम्मा दिएको र कार्यालय समयमै कार्यरत कर्मचारहरुलाई अभद्र व्यवहार गर्ने गरेकोले यस कार्यालयको हामी सम्पूर्ण कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी समक्ष एवम् नियमानुसार आफ्नो दायित्व वहन गर्ने कर्मचारीहरुमाथि बारम्बार गलत मानसाय राखी कर्मचारीहरुको मनोबल गिराउने तथा हतोत्साहित गर्ने कार्य तुरुन्त बन्द गरी देहायमा उल्लेख भए बमोजिमका शर्तहरु पालन हुने प्रतिवद्धता नहुन्जेलसम्मका लागि कार्यालयको सम्पूर्ण कामकाज (विद्यालयको नियमित, पठनपाठन, स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवा बाहेक) स्थगित गरिएको व्यहोरा अनुरोध छ ।’

कर्मचारीहरुले कर्मचारी सम्बन्धि कुनै गुनासो वा विषय भए सोको सुधारको लागि कार्यालय प्रमुखलाई जानकारी गराउने वा कार्यपालिका बैठकमा औपचारिक एवम् तर्कसंगत रुपमा स्पष्टीकरण लिने, प्रशासनलाई पुर्ण रुपमा राजनीतिक हस्तक्षेप विहिन बनाउनुपर्ने, कार्यालय प्रमुख चढ्ने गाडीको साँचो अविलम्ब सम्पूर्ण कर्मचारीहरुको रोहबरमा फिर्ता गर्नुपर्ने माग अघि सारेका छन् ।

त्यस्तै, कर्मचारीहरुको सवालमा कानून विपरितको प्रसंगहरु ल्याई हतोत्साहित गर्ने कार्य बन्द गर्नुपर्ने, कर्मचारीहरु उपर गरिने अभद्र व्यवहारहरु रोकिनुपर्ने, कर्मचारी तथा जनप्रतिनिधिहरुको सु–सम्बन्ध कायम गरी सहज परिवेशमा कार्यसम्पादन हुने वातावरण सिर्जना गर्नुपर्ने कर्मचारीहरुले माग उठाएका हुन् ।

उता, नगर प्रमुख बिरेन्द्र माझीले कर्मचारीहरुले आफुलाई ज्ञापन–पत्र बुझाएको बताए । ‘ज्ञापन पत्र त बुझे तर समय अभावले थप छलफल गर्न सकिएन, सवारीको साँचो जनप्रतिनिधिले खोसेको कुरा पनि ज्ञापन पत्रमा छ, साँचो जनप्रतिनिधिले खोसेको हो’ उनले भने, ‘भोली बसेर छलफलबाट निकास निकाल्ने हाम्रो तयारी छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस