बारा, २९ चैत्र । लोन्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले राष्ट्रिय राजनीतिलाई दिशा दिनसक्ने तथा शोषित उत्पीडित जनताको मुक्ति दिलाउन उपेन्द्र यादव बाहेकको विकल्प नरहेको बताएका छन् ।
महागढी माई नगरपालिका वडा नम्बर १ बरियापुरमा बुधबार नेपाल सोनार समाज बारा क्षेत्र नम्बर २ द्वारा आयोजित भेटघाट स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सामाजिक रूपमा असङ्गठित रहेकोले विभेदको सिकार रहेको बताउँदै उनले भने ‘राष्ट्रिय राजनीतिलाई दिशा दिनसक्ने तथा शोषित उत्पीडित जनताको मुक्ति दिलाउन उपेन्द्र यादव भारी मतले जित्नैपर्छ ।’
अहिले विपक्षीले बाहिरिया भनेर गरिएको दुष्प्रचारप्रति सचेत रहनुपर्नेमा जोड दिँदै नेता सोनलले मैदानमा रहेका उम्मेदवारहरू नै परीक्षणकालमा रहेकोले उपेन्द्र यादवको सङ्घर्ष, योगदान र प्राप्त उपलब्धीलाई मध्यनजर गर्दै सम्पूर्ण मतदाताले मतदान गर्नुपर्ने बताए । सुनचाँदी ब्यवसाय निक्कै सङ्कटपूर्ण अवस्थामा रहेको चर्चा गर्दै ती समस्याहरु समाधान गर्न आफुले पटक–पटक अवाज उठाउँदै आए पनि केही सहजिकरण गर्ने काम तर भयो तर २१औं शताब्दिमा पनि जात पातको कुरा उठ्नु दुःखद रहेको उनले बताए ।
जातपातको कुरालाई हटाउन सकिएन भने आउँदा दिनमा सामाजिक सद्भाव बिथोलिन गई सबै समुदाय आपसमै टुक्रा–टुक्रा भएर जाने र सङ्घीयता नै कमजोर हुने भन्दै लोसपा नेता सोनलले चिन्ता व्यक्त गरे । नेपाल सोनार समाजले जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवलाई कदर–पत्रले सम्मान समेत गरेको छ ।
विकासको अभियानलाई अगाडि बढाउनुपर्छ: उपेन्द्र यादव
कार्यक्रममा बोल्दै उनले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र अब यस उपलब्धिलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याए । ‘लोकतन्त्र त स्थापित भयो तर विकास भने हुन सकेन अध्यक्ष यादवले थपे ‘जसका कारण गरिबी, अशिक्षा र बेरोजगारी अझैं व्याप्त छ, आमजनता झनझन गरिब हुँदै गईरहेको छ, अर्कोतर्फ सर्वसाधारण जनता मिटरब्याजीको दलदलमा फँसेको छ ।’
विकासको अभियानलाई अगाडि बढाउनु पर्नेमा जोड दिँदै प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले आफू बाराका जनताको काँधमा काँध मिलाएर विकास अभियानमा जुटिसकेको टिप्पणी गर्दै भने ‘जनता कहिल्यै हार्दैन, कहिले हार्नु पनि हुन्न, जनता विजयीपथमा अघि बढिसकेको छ ।’