अथक योद्धा उपेन्द्र यादवको सङ्घर्ष–यात्रा

विद्यानन्द राम

विद्यानन्द राम

नेपालको राजनीतिमा उपेन्द्र यादव स्थापित नाम हो । शोषण, दमन एवम् उत्पीडन विरुद्ध भएको मधेश जनविद्रोहको कमाण्डरको रुपमा चिनिनुहुन्छ वहाँ । वहाँको जन्म वि.सं. २०१६ सालमा सप्तरीको महदेवा गाउँपालिका स्थित भगवतपुर गाउँमा भएको हो ।

फुलनी देवी र धनीलाल यादवका कान्छा छोरा उपेन्द्र सानैदेखि जेहेन्दार हुनुहुन्थ्यो । सामान्य जीवनशैली, भद्र एवम् उच्च बौद्धिकता भएका नेताको रुपमा परिचित वहाँको बाल्यकाल भगवतपुरमै बितेको हो । समाजमा व्याप्त विकृति, विसङ्गती एवम् विभेद वहाँलाई पटक्कै मन पर्दैनथ्यो । मन नपरेको कुरामा वहाँ तत्कालै विरोध जनाई हाल्नुहुन्थ्यो ।

बिराटनगरको महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसबाट विज्ञान विषयमा स्नातक तह र स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ । वि.सं.२०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट सदस्यता लिँँदै विद्यार्थी राजनीतिमा सक्रिय हुनुभयो । अर्थात त्यतिबेला अखिल प्रतिबन्धित रहेकोले भूमिगत रहेर राजनीतिमा लागिरहनु भयो ।

२०३६ सालको जनमतसँग्रहका क्रममा भएको आन्दोलनमा वहाँ गोली लागेर घाइते समेत हुनुभयो । २०४६ सालमा वहाँ नेपाली कांग्रेसको आह्वानमा भएको सत्याग्रहमा सामेल हुनुभयो । आन्दोलनका क्रममा उपेन्द्र यादव काठमाडौंमा पक्राउ परि केन्द्रीय कारागारमा एक वर्षसम्म जेल जीवन बिताउनुभयो ।

वहाँको पारिवारिक अवस्था सबल थिएन । राजनीतिसँगै वहाँले केही वर्ष जेसी बाल सदन र नेशनल एकेडेमी कलेजमा पढाउनुहुन्थ्यो । वि.सं. २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा वहाँ विराटनगरमा फेरी पक्राउ पर्नुभयो । वहाँलाई बिराटनगरबाट धनकुट्टा कारागार लगियो । प्रजातन्त्र पुनस्र्थापना पश्चात वहाँ जेलमुक्त हुनुभयो ।

वि.सं. २०४८ सालमा वहाँ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी–लेनिनवादी)बाट सुनसरी–४ मा उम्मेदवार बन्नुभयो । तर वहाँ पराजय व्यहोर्नुभयो । वहाँको जीवनमा थरीथरीका चुनौतीहरु आईरह्यो । यद्यपी राजनीति र मधेशको विषयमा अध्ययन अनुसन्धानमा वहाँ लागिरहनु भयो । उपेन्द्र यादवले मधेशी समुदाय एक विवेचना, नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र सहित सात ओटा पुस्तक लेख्नुभएको छ ।

त्यतिबेलाका पार्टीहरु मधेश र मधेशी जनतालाई हक, अधिकार तथा मुक्ति दिलाउने सवालमा गम्भीर नदेखेपछि वहाँले २०५४ सालमा ‘मधेसी जनअधिकार फोरम’ नामक बैचारिक बहस गर्ने संगठन बनाउनुभयो । मधेशका विद्वतवर्गहरुको सक्रियतामा वहाँले मधेशका विविध समस्याहरुबारे मधेश सहित देशैभरी वैचारिक बहस जारी राख्नुभयो ।

फोरमको वैचारिक अभियानमा बुद्धिजीवी एवम् अभियन्ताहरु जोडिदै गयो । उपेन्द्र यादव राजनीतिमा लागेका कारण घरपरिवारको सम्पूर्ण जिम्मेवारी अर्धाङ्गिनी पार्वतीको काँधमा आईपर्यो । यद्यपी राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरुमा समेत पार्वतीले अग्रमोर्चाका आन्दोलनकारीको भूमिका निभाउनुभएको छ । वहाँको एकमात्र छोरा अमरेन्द्र यादव जसपामै आवद्ध भई राजनीतिमा सक्रिय हुनुहुन्छ ।

वि.सं २०६३ सालमा जारी भएको अन्तरिम संविधानमा संघीयता सहित मधेशको अधिकार नलेखिएको भन्दै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवले काठमाण्डौमा अन्तरिम संविधान जलाउँदै विद्रोहको घोषणा गर्नुभयो । संविधान जलाएपछि वहाँ सहित २८ जना नेता तथा कार्यकर्ताहरु पक्राउ पर्नुभयो । तत्पश्चात स्वस्फूर्त रूपमा मधेश आन्दोलित भयो । एक महिनासम्म चलेको उक्त आन्दोलन मत्थर पार्न तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले एक सातामा दुई पटक राष्ट्रका नाममा सम्बोधन गर्नुप¥यो । मधेशी जनताको आन्दोलनको रापतापले त्यतिबेलाको सरकार झुक्न बाध्य भयो ।

माघमा प्रधानमन्त्रीको दोस्रो सम्बोधन पश्चात केही समयका लागि स्थगित भएको मधेश आन्दोलन पुनः अगाडि बढ्यो । २०६४ भदौ १३ गते सरकार र मधेशी जनअधिकार फोरम बीच २२ बुँदे सहमति भयो । सरकारका तर्फबाट तात्कालिन शान्तिमन्त्री रामचन्द्र पौडेल र फोरमको तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गर्नुभयो । ऐतिहासिक जनआन्दोलन २०६२÷६३ कै निरन्तरताका रूपमा भएको मधेशी जनताको आन्दोलनको भावनालाई हृदयंगम गर्दै’ भन्ने वाक्यांश सहमतिको पृष्ठभूमिमा नै लेख्न बाध्य पारियो ।

२०६४ फागुन १ देखि दोस्रो मधेश आन्दोलन शुरु भयो । समस्या समाधानका लागि आन्तरिक प्रयासहरू भए तर सफल भएनन् । फागुन १८ गते प्रधानमन्त्री निवास बालुवाटारबाट आठ बुँदे सहमतिपछि आन्दोलनलाई विराम दिईयो । सहमतिमा ‘मधेशी जनताको स्वायत्त मधेश प्रदेशको चाहना लगायत आकांक्षालाई स्वीकार गरी’ भन्ने वाक्यांश थप्न बाध्य पारियो । फोरमसँगको उक्त सहमतिले नै पहिलो संविधानसभाको चुनाव सुनिश्चित ग¥यो ।

त्यही सम्झौताको फलस्वरुप त्यतिबेलाका सरकारले नागरिकता टोली मार्फत पहिलो चणमा २२ लाख र दोस्रो चरणमा ९ लाख गरी ३१ लाख जनतालाई नागरिकता वितरण गर्यो । २०६४ सालको पहिलो संविधानसभाको चुनावमा तत्कालीन फोरमले प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २२ सिट जितेर संसद्को चौथो ठुलो शक्तिको रुपमा उदाउन फोरम सफल भयो । मोरङ्ग ५ र सुनसरी ५ बाट वहाँ एकसाथ चुनाव जित्नुभयो । २०६५ सालमा उप–प्रधान एवम् परराष्ट्रमन्त्रीको जिम्मेवारीमा हुँदा वहाँले मधेश र मधेशीको मुद्दालाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन सफल हुनुभयो । त्यसपछि २०७० को दोस्रो संविधानसभामा सुनसरी ५ बाट निर्वाचित हुनुभयो ।

राजनीतिक यात्राका क्रममा मधेश र मधेशी जनमनबाट उँचाई प्राप्त गर्दै गरेको पार्टीलाई फुटाउने, कमजोर पार्ने जस्ता कार्यहरु भईरह्यो तर वहाँले अबिरल अविछिन्न रुपमा शोषित, पीडित जनताको हक अधिकारकालागि सङ्घर्ष गरिरहनु भयो ।

सङ्घर्ष यात्रामा सहयात्रीहरु जोड्दै पार्टीलाई मजबुत बनाउन लागिरहनु भयो । जसको फलस्वरुप मधेशी जनअधिकार फोरम हँुदै वर्तमानमा जनता समाजवादी पार्टी नेपाल मधेश मात्र नभई हिमाल र पहाडको समेत समावेशी वैकल्पिक शक्तिको रुपमा उदाउन सफल भएको छ । निर्भिक, स्वाभिमानी र हठी स्वाभावका वहाँ जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय आधारमा कायम रहेका असमानता, शोषण, उत्पीडन र विभेदलाई अन्त्य गर्न वहिष्करणमा पारिएका मधेशी, आदिवासी, जनजाती, दलित, महिला, मुस्लिम, थारु, अल्पसङ्ख्यक समुदाय, पिछडावर्ग लगायत उत्पीडित÷सिमान्तकृत समुदाय÷जातीहरुको शोषण, उत्पीडनबाट मुक्तिका लागि वहाँ पार्टीको अध्यक्ष अर्थात सारथी भई निरन्तर अगाडि बढिरहनुभएको छ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ बाट वहाँ अत्यधिक मतले निर्वाचित हुनुभयो । २०७५ मा वहाँ उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुनुभयो । त्यसक्रममा वहाँले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्यहरु गर्नुभयो । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीमा रहँदा मन्त्रिपरिषदको बैठकमा वहाँले पेश गर्नुभएको संविधान संशोधन प्रस्ताव पारित नभएपछि राजीनामा दिनुभयो ।

वहाँले चुनावका बेला मतदाताहरुसँगै कुनै आश्वासन बाँड्नु भएन । तर कोभिड १९ लगायत विषम् परिस्थितिका बावजुद पनि सप्तरीको कायापलट हुने गरी वहाँले दर्जनौं कार्यहरु अगाडि बढाउनु भएको छ । पचास बेडको गजेन्द्रनारायण सिंह अस्पताललाई ४ सय २० बेडको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल बनाउनु, राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ्ग कलेज, कृषि विश्व विद्यालय, इन्जिनियरिङ्ग कलेज निर्माण कार्य गर्नुभएको छ ।

यसैगरी सामुदायिक विद्यालयहरुमा पक्की भवन निर्माण, सदरमुकाम जोड्ने चार र दुई लेनका पक्की सडकहरु, राजविराज चत्रपथ सडक सहित गाउँहरुसम्म पक्की बाटो पुर्याउन दर्जन बढी सडकहरुको काम अगाडि बढाउनु भएको छ । भारतको नेशनल हाइवेसँग जोड्न न्यौर, छिन्नमस्ता–राजविराज–रुपनी हुँदै गाईघाटदेखि सोलुखुम्बुु जोड्दै चाइनाको केरुङ्ग नाका जोड्ने गरी सडक सञ्जाल निर्माणका कामहरु वहाँकोे विशेष पहलमा अगाडि बढेको छ ।

राज्यको नजरबाट उपेक्षित रहेको सप्तरीको मुहार फेर्ने जसपा अध्यक्ष उपेन्द्र यादव मिसन र भिजनका साथ अगाडि बढ्नुभयो । हालसम्म कुनै पनि नेता वा पूर्वमन्त्रीहरुले वहाँ जतिको काम गर्न सकेको छैन । राष्ट्रिय राजनीतिमा वहाँको बढ्दो कद र सप्तरीको मुहार फेर्नका लागि अगाडि बढाएका कामहरु विकास विरोधीहरुलाई पाच्य भएन । शोषण, दमन एवम् विभेदमा पारिएका मधेशी जनताको हक, अधिकार र पहिचान दिलाउने नेता विरुद्ध चौतर्फी षडयन्त्र र घेराबन्दी भयो । २०७९ मङ्सिर ४ मा भएको निर्वाचनमा वहाँ दुर्भाग्यवश पराजय हुनुभयो ।

राजनीतिक परिवर्तनका योद्धा एवम् विकासपुरुष उपेन्द्र यादवको पराजयसँगै सप्तरीको विकास र समृद्धिको यात्रा गन्तब्य विहीन बन्न पुगेको छ । टेण्डर भईसकेका सडकहरुको निर्माण कार्य अगाडि बढेको छ । कृषि विश्वविद्यालयमा पढाई शुरु भएको छ भने पनि नर्सिङ्ग कलेज र इन्जिनियरिङ्ग कलेजको स्वामित्व हस्तान्तरण तथा पठनपाठनको काम अगाडि बढ्न सकेको छैन । रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपिआर पछिको काम र ५० बेडबाट एकैपटक ४२० बेडमा स्तरोन्नती भएको अस्पतालमा थप शैय्या र दरबन्दी स्वीकृति लगायतका कामहरु त्यसै थन्किएको छ । अस्पतालको सेवासुविधा विस्तारमा समेत विराम लागेको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता, समावेशिता र आरक्षण लगायतका अधिकारहरु सुनिश्चित गराउने योद्धा रत्तिभर विचलित नभई राजनीतिक यात्रामा अगाडि बढिरहनुभएको छ । वहाँ नेतृत्वको पार्टी सफल रहेको छ । मधेशीलाई आफ्नै देशमा मर्सिया, भैया, बिहारी, धोती जस्ता शब्दले अपमानजनक व्यवहार गरिन्थ्यो । आज मधेश र मधेशीको पहिचान नीतिगत रुपमा संस्थागत भएको छ । सङ्घीय शासन व्यवस्थाको अभ्यासका क्रममा आज मधेशको नामबाट प्रदेश नै बनेको छ । यहाँका जनताले गर्वका साथ मधेश प्रदेशका वासिन्दा भन्न पाएका छन् ।

मधेशी, महिला, दलित, मुस्लिम, थारु, आदिवासी, जनजाति, अल्पसङ्ख्यक लगायतका समुदायकालागि सरकारी जागिर लगायतमा आरक्षण समेतको सुनिश्चितता वहाँकै देन हो । मधेशी जनताको साथ पाएर उनले मधेश र मधेशीलाई विश्वमा चिनाउन वहाँ सफल हुनुभएको छ । तर मधेश र मधेशी जनताका लागि केही गर्न नसकेकाहरुले नेपालका मण्डेला अर्थात उपेन्द्र यादव विरुद्ध थरिथरिका भ्रमहरु फैलाउन सक्रिय छन् । उनका जीवनमा थरिथरिका चुनौतीहरु आए तर देशलाई विखण्डन वा कमजोर पार्ने काम कहिले गर्नुभएन । देशभित्र अधिकार र पहिचान सहितको मधेशका लागि वहाँको सङ्घर्ष जारी रह्यो । जतिबेला मधेशमा आन्दोलनको आगो दन्किरहेको थियो त्यतिबेला वहाँको सुझबुझ र संयमताकै कारण देश ठूलो दुर्घटनाबाट जोगिएको हो । वहाँलाई वाह्य हस्तक्षेप वा उक्साहटलाई कहिले स्वीकार गर्नुभएन । देशको स्वाभिमान र गरिमामा आँच आउन दिने काम कहिल्यै गर्नुभएन । बरु आफु थरिथरिका समस्या एवम् पीडा सहन बाध्य हुनुभयो ।

विभिन्न आरोहअवरोहहरु खेप्दै निरन्तर कठोर सङ्घर्षमा रहनुभएका मधेशका गौरव उपेन्द्र यादवलाई बारा २ का जनताले भव्य स्वागत गरी उपनिर्वाचनमा उम्मेदवारी दिन लगाउनुभयो । सप्तरी २ का जनताले रत्नलाई गुमाए भने बाराबासीले असली हिराको परख गर्न सफल भए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा गर्न योद्धा उपेन्द्र यादवको आवश्यकता महशुस गर्दै पाँच दलीय गठबन्धनले साथ दिए । चुनावी अभियानका क्रममा जनता दर्शनमा रहनुभएका वहाँले आमजनताको उत्साहनजनक साथ पाएर वहाँको हौसला थप बुलन्द भएको छ ।

न्यायप्रेमी बारा २ का मतदाताले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सम्मानजनक मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी गराउन सफल भएका छन् । बाराको मुहार फेर्ने जिम्मेवारी अब मधेश विद्रोहका कमाण्डर उपेन्द्र यादवको काँधमा आएको छ । वहाँ कुराभन्दा पनि काममा विश्वास गर्नुहुन्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा मधेशका साथै हिमाल र पहाडका शोषित, उत्पीडित जनताको हक, अधिकार स्थापित गराउन र पहिचानवादी आन्दोलनलाई सफल पार्न वहाँको नेतृत्वदायी भूमिका रहोस् भन्ने कामना सहित उदाहरणीय कार्यकालका लागि हार्दिक बधाई एवम् शुभकामना ।

Author:



क्याटोगरी छान्‍नुहोस