मिनी सिंहदरबारमा जनप्रतिनिधिको मनमौजी, पुनः तोकआदेशमै कर्मचारी भर्ना गर्दै

राजविराज – सप्तरीको राजविराज नगरपालिकामा पुनः तोकआदेशकै भरमा कर्मचारी भर्ना गर्न लागेको पाइएको छ । जनप्रतिनिधि र कर्मचारीको मनोमानी कायमै रहेको नगरपालिकामा खुला प्रतिस्पर्धा नै नगराई तोकआदेशकै भरमा कर्मचारी भर्ना गर्न लागेको हो ।

पछिल्लो पटक पुनः राजविराज नगरपालिका–१ का मो.फिरोज अलिलाई ईन्जिनियर पदमा भर्ना गर्न लागेको कर्मचारी श्रोतले जानकारी दिए । ‘पदपुर्तीका लागि विज्ञापन आह्वान नै नगरी नाता गोतालाई दैनिक डोर हाजिरीका नाममा विना प्रतिस्पर्धा भर्ती गर्नु सरासर गलत हो’ कर्मचारी श्रोतले भन्यो, ‘यस्तोमा भर्ना गर्न लागिएका कर्मचारी योग्य छन्/छैन् भन्ने यकिन समेत नहुने भएकाले काम हुनेभन्दा आर्थिक भार मात्रै पर्ने देखिन्छ । त्यसो त ऐन, नियम, विधि र कानुनअनुसार भए नभएको खुट्याउने जिम्मेवारी कर्मचारीहरूको रहे पनि जनप्रतिनिधिको जोडबलका कारण बोल्नै मिलेन ।’

नगरपालिकामा मेयरमा निर्वाचित भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन् । कार्यवाहक मेयर इसरत परविनले आफु खुशी कर्मचारी भर्ना गर्न लागेको श्रोतको दावी छ ।

उसो त यसअघि पनि नगरपालिकामा मनमौजी ढंगले आधा दर्जन जति कर्मचारी भर्ना गरिसकेका छन् । गत असोज ४ गते राजविराज नगरपालिका–१ की इशा परविण, ९ गते मोहम्मद सलाउद्दिन र असोज ११ गते राजविराज नगरपालिका– २ का हरिनारायण साहलाई डोर हाजिरीमा नियुक्ति दिइएको छ ।

निशालाई दैनिक १ हजार ९६ रुपैयाँ तलब दिने गरी कम्प्युटर अपरेटरमा नियुक्त गरिएको भने सलाउद्दिनले दैनिक ७ सय रुपैयाँ दिने गरी कार्यालय सहयोगी र हरिनारायणले दैनिक १ हजार १५७ रुपैयाँ दिने गरी सहायकस्तरको पाँचौँ तहमा नियुक्ती पाएर तलब खाइरहेका छन् ।

सो विषयमा प्रशासन शाखाका प्रमुख रामचन्द्र दासले मो.फिरोजको नियुक्ती पाउनको लागि निवेदन आएको कुरा स्वीकार गरे । ‘कामको चाप बढी रहेकोले एक जना ईन्जिनियरलाई भर्ना गर्नुपर्ने कार्यवाहक मेयर सा’बको कुरा थियो, मो.फिरोजको निवेदन मैले देखे तर औपचारिक रुपमा मसमक्ष आइसकेको छैन्’ उनले भने, ‘सो निवेदनमा हाकिम सा’बले तोक लगाउनुभएको छ तर अहिले नियुक्ती पाइसकेको छैन् । उहाँहरु (कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृत) बीच छलफलपछि नियुक्ती दिने/नदिने कुरा हुनसक्छ ।’

तर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले पञ्छिन खोज्दै सो विषयमा आफुलाई जानकारी नै नरहेको प्रतिक्रिया दिए ।

नगरपालिकाका प्रवक्ता जयनारायण मण्डलले डोर हाजिरीमा कर्मचारी नियुक्त गर्न लागेको कुरा आफुलाई समेत जानकारी नरहेको बताए । ‘हामीले साउन नवित्दै डोर हाजिरी र ज्यालादारी कर्मचारीलाई हटाउने सैद्धान्तिक निर्णय भइसकेको छ’ उनले भने, ‘तर कहाँबाट यो कुरा आयो, यस विषयमा हामलाई जानकारी छैन् ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780