नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकता दिन सुझाव

काठमाडौं – सत्तारुढ गठनबन्धन दलका शीर्ष नेताले कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशरण महतले सरकारको आगामी नीति तथा कार्यक्रम कस्तो ल्याउने भन्नेबारे सुझावका लागि आज आह्वान गरेको गठनबन्धको बैठकमा शीर्ष नेताले विदेश पलायन हुने युवालाई रोक्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका हुन् ।

‘सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ, गठबन्धन दलका सबैबाट प्रधानमन्त्री र अर्थमन्त्रीले के–के विषयवस्तुमा अघि बढ्ने भनेर सुझाव माग्नुभयो, हामीले पनि त्यहीअनुसार सुझाव दिएका छौँ’ बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डेले भने ।

सिंहदबारमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरूको सहभागिता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस