उपमेयरको नागरिकता प्रकरण : मुद्दा दर्ता गरी छानबिन गर्न प्रहरीलाई उच्च अदालतको परमादेश

राजविराज, ५ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवको नागरिकता प्रकरणमा मुद्दा दर्ता गरी छानबिन गर्न जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको नाममा उच्च अदालतबाट परमादेश जारी भएको छ ।

कीर्ते गरी नेपाली नागरिकता लिएको भन्दै कारबाही प्रक्रिया अघि बढाउन परमादेश माग गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलासमा एक महिनाअघि मुद्दा दायर भएको थियो । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयलाई विपक्षी बनाएर दायर भएको मुद्दामा शुक्रबार मुख्य न्यायाधिस हरिप्रसाद भण्डारीको इजलासले परमादेशको आदेश जारी भएको हो ।

डाक्नेश्वरी नगरपालिका–४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेस राजविराज नगरपालिका–९ का ५७ वर्षीय परमेश्वर यादवमार्फत दायर गरेको सो मुद्दामा प्रमाणसहित उजुरी गरेको झण्डै ८ महिना वित्दा समेत कारबाही प्रक्रिया अघि नबढाएकोले विपक्षीहरुको नाउँमा परमादेशको आदेश जारी गर्न माग गरिएको थियो ।

कृष्णले गत साउनको दोस्रो साता जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको उजुरी दिएका थिए ।

विधानसभा निर्वाचन क्षेत्र विहार निर्वाचक नामावली भाग सं.५१ अनुसार श्रीमान् श्रीमाति दुवै भारतीय मुलका स्थायी नागरिक रहेता पनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ । ‘नेपाल देशमा मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजीतले साविकको सप्तरीको औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिई मिरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशिल न्यायिक समितिको संयोजक पदमा बसी पदिय दायित्व दुरुपयोग गरिरहेकी छन्’, उजुरीमा भनिएको छ ।

मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उहाँका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्द गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमार्फत माग गरिएको छ ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम रहेको भने अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उहाँहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न प्रमाण राखिएको छ । सो उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोधार्थ गर्दा समेत अहिलेसम्म कुनै कारबाही भएको छैन् ।

उता, उजुरी परेसँगै उपमेयरका पति महेन्द्रले आफ्ना नाममा रहेका २ विघा ६ धुर जग्गा बिक्री गरिसकेका छन् । महेन्द्रले सप्तरी र सुनसरीमा रहेको ७ वटा कित्ताको जग्ग बिक्री गरिसकेका छन् ।

महेन्द्रको नाममा रहेको सप्तरीको पातोस्थित कित्ता नम्वर १(ख)को १६२७ र सुनसरीको भोक्राहास्थित ६ (क) को ८३२, ८३४, ९५५, १११ र १३६९ तथा ८ (ग) को २७६ को जग्गा बिक्री भएको छ । कित्ता नम्वर १६२७, १११, ८३२ र ८३४ को जग्गा गत साउन ३० गते विक्री गरेको छ भने कित्ता नम्वर ९५५,२७६ र १३६९ को जग्गा गत भदौ १ गते बिक्री गरेको भूमि सुधार तथा मालपोत कार्यालयको तथ्यांकले देखाएको छ ।

उपमेयर मीरा भने सो आरोपहरु गलत रहेको दावी गर्दै आएकी छन् भने महेन्द्रले चुनावको बेला भएको ऋण फछ्र्यौट गर्न ती जग्गाहरु बिक्री गरेको बताउँदै आएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस