हिंसा शब्द नै अप्रिय

प्रिया सिंह थारु
हिंसा शब्द नै अप्रिय शब्द हो । कुनै कारणबस कसैलाई मार्नु, सताउनु, दुःख पिडा दिनुलाई हिंसा बुझ्नुपर्छ । हिंसा महिलाबाट पुरुषलाई हुन सक्छ । पुरुषबाट महिलालाई हुन सक्छ । महिलालाई महिलाबाट वा पुरुषलाई पुरुषबाट हुन सक्छ । जोसुकैलाई हुन सक्छ । महिला हिंसा, बाल हिंसा, घरेलु हिंसा, यौन हिंसा, शारीरिक हिंसा, मानसिक हिंसा, आर्थिक हिंसा, सामाजिक हिंसा, साँस्कृतिक हिंसा, राजनितिक हिंसा, लैङ्गिक हिंसा आदी ।

लिङ्गको आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसा नै लैङ्गिक हिंसा हो । कुटपिट, जबरजस्ती, गर्भपतन गर्न लगाउनु, महिलालाई कामको बोझ थपेर दुःख दिनु वा शारीरिक रुपमा घाऊ, चोटपटक वा क्षति पुग्ने गरि गरिने कुनै पनि प्रकारका हिंसा शारिरीक हिंसा बुझ्नुपर्छ ।

त्यस्तै शारीरिक यातनाको डर, धाक, धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौच गर्ने, अपशब्द बोल्ने, अरुका अगाडि होच्याउने, तिरस्कार गर्ने, घरबाट निकाला गर्ने, इच्छा विपरित काम गर्न लगाउने साथै वैचारिक, धार्मिक, साँस्कृतिक तथा परम्पराका आधारमा गरिने भेद्भावलाई मानसिक हिंसा बुझ्नुपर्छ । संस्कार, धर्म परम्परा वा रीतिरिवाजका आधारमा गर्ने हिंसाहरु जस्तै बालविवाह, बोक्सिको आरोप इत्यादि सामाजिक साँस्कृतिक हिंसा भित्र पर्दछ ।

घरभित्र वा जुनसुकै स्थानमा गरिने बलात्कार, बलात्कारको प्रयास, यौन दुव्र्यवहार, यौनशोषण, जबरजस्ती संवेदनशील अगंहरु छुने वा छुवाउने जबरजस्ती वा झुक्याएर यौन चित्र फोटो वा फिल्म देखाउने वा जबरजस्ती संवेदनशील चित्र, फोटो वा फिल्म खिच्ने, यौनजन्य कुराकानी वा शब्दहरूको प्रयोग गर्ने वा यस्तै प्रकारका अन्य घटनाहरू यौनिक हिंसाभित्र पर्दछ ।

अहिले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान जारी छ । लैङ्गिक हिंसा जस्ता हिंसा हाम्रा समाजमा घटिरहेको हुन्छ । अहिले नबोली कहिले बोल्ने ? कृषकको समस्याबारे बोल्न खेतीकै मौसम हेर्नुपर्ने ? बालबालिकाको अधिकारका अवाज उठाउन बाल दिवसकै दिन कुर्नुपर्ने ? महिलाको अधिकारको आवाज उठाउन नारी दिवसकै दिन कुर्नुपर्ने ? बर्षमा एक दिन मात्र अवाज उठाउदैमा पुगि हाल्छ र ? होइन नि । आफ्नो अधिकारको लागि दिवसकै वा अभियानकै दिन कुरी राख्नु पर्दैन । द्ववापरयुग, त्रेतायुग, सतयुग त्यसपछि कलयुग यो एउटा युगको परिवर्तन हो । युग परिवर्तन हुदै हजारौं हजार बर्षमा चलिरहेको छ । मानव जीवनको युगपनि एक कडीबाट अर्को कडी हुदै जानेछन । त्यस्तै हिंसा पनि युगसँगै सर्दै गइरहेको छ । बिभिन्न संघसंस्था हिंसा क्षेत्रमा काम गरिरहेको छ तैपनि हिंसा हुन, हिंसा गर्न छोडदैनन् ।

नेपालको संविधानले प्रत्याभुत गरेका मौलिक अधिकार तथा कानूनले महिलालाई परिवार सञ्चालनदेखि राज्य सञ्चालनसम्मको हरेक निकायमा समान अवसर, सहभागिताको सुनिश्चिता गरेका छन । तैपनि दाइजो, बोक्सी जस्ता विकृति र बिसंगती विरुद्ध परिवार र समुदाय स्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नुको साथै कानुनमा उल्लिखित दण्ड र सजाय कार्यान्वयन हुनु जरुरी छ ।

शिक्षा मानव जीवनको उज्यालोको त्यो श्रोत हो, जुन उज्यालोले हामी मानवलाई जीवनको बिभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । लैङ्गिक हिंसा, यौन हिंसा, घरेलु हिंसा, महिला हिंसा, बाल हिंसा, साँस्कृतिक, सामाजिक आदि यो हिंसा शब्द न्युनिकरण मात्र होइन निर्मुल गरी जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न उचित शिक्षा आर्जन गर्नु सवैको लागि अत्यावश्यक छ । शिक्षा आर्जन नगर्नु भनेको अन्धकारमा बस्नु सरह हो । शिक्षा वा शिपले नै मानिसभित्र आत्मबिश्वास बढाउने काम गर्छ । शायद यहि तथ्यलाई बुझेर होला सभ्यताको बिकासक्रमसँगै मानिसले परापूर्वकालदेखि नै बिभिन्न तरिकाबाट सिक्ने र सिकाउने कार्य गर्दै आएको छ ।

महिला होस् वा परुष सबैलाई आर्थिक रूपले आत्मनिर्भर बनाउँदै महिला र पुरूषमा भएको असमान शक्ति संरचनामा परिवर्तन गर्नसके मात्र महिलाविरुद्ध हुने हिंसा कम गर्न सकिन्छ । महिला–पुरुष दुबै चेतना, शिक्षा, आर्थिक र सामाजिक रुपमा सशक्त सबल नहुदाँसम्म हिंसामा कमी नहुने भन्ने मलाई लाग्दछ ।

खासगरी हिंसा प्रभाबित महिलाको क्षेत्रमा काम गर्न बिभिन्न संगठन गठन गरेको पाइन्छ तर जब कुनै महिला समस्यामा पर्छन त्यतिबेला महिला अधिकारको आवाज उठाउने अधिकारकर्मीको अतोपतो हुदैन । सबैले त होइन तर केहीले आफु व्यस्तताको कुरा गर्छन वा बेवास्ता गर्ने गर्दछन । ठुला–ठुला कुराले होइन अधिकार बोलीमा होइन व्यवहारमा लागू हुनुपर्छ । अन्य हिंसा वा लैङ्गिक हिंसा अन्त्यको लागि क्रियाशील संघ संस्था तथा अधिकारकर्मीहरुलाई निष्पक्ष उत्साहका साथ १६ दिने अभियानले प्रेरणा प्रदान होस् भन्ने आशा मात्र नभई बिश्वास लिइ सफलताको हार्दिक शुभकामना समेत व्यक्त गर्न चाहन्छु ।

लेखक थारु मधेशलाइभका सम्पादक हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस