राजविराजकी कावा मेयरसहितकाले चरित्र हत्या गर्दैछन् : ठाकुर

राजविराज – आफ्नी पत्नीको नाममा १३ वर्षअघि खरिद गरिएको जग्गाको विषयलाई विवादीत बनाएर राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनसहितकाले चरित्र हत्या गर्ने गरेको स्थानीय जयप्रकाश ठाकुरले आरोप लगाएका छन् ।

उनले शुक्रवार पत्रकार सम्मेलन गर्दै राजनीतिक ओतप्रोतले आफ्नो परिवारको चरित्र हत्या गर्ने गरेको बताए । ‘कार्यवाहक नगर प्रमुख इसरत परविनसहितका व्यक्तिले विना कारण मेरो विषयमा सामाजिक सञ्जालमा भ्रम फैलाउँदै चरित्र हत्या गर्ने गरेको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको छ’ उनले भने, ‘जनप्रतिनिधि सबै जनताका प्रतिनिधि बन्नुपर्छ तर म र मेरो परिवारविरुद्ध अनर्गल प्रचार गर्दै चरित्र हत्या नै गर्न खोजेको छ ।’

उनले सो जग्गा ०६७ फागुन १६ गते नै आफ्नी पत्नीको नाममा पास स्पष्ट गरे । ‘राजविराज–३ हाल ४ को गाउँ ब्लक नम्वरको कित्ता नम्वर ५३५ को जग्गा १५ कठ्ठा ९ धुर मेरो श्रीमति संगीता ठाकुरको नाममा ०६७।११।१६ मा रजिष्ट्रेशन भई आएको छ । जसको सालबसाली मालपोत गर्दै तिर्दै आएको र ०८० सालको मालपोत समेत बुझाइसकेको’ उनले भने, ‘सो जग्गाको चारैतिर लागेको पक्की पर्खाल ०७३ सालमा भत्काएर नयाँ बनाउन लाग्दा नगरपालिकाबाट कामलाई यथास्थितिमा राखि आफ्नो सबुत प्रमाणसहित उपस्थित हुनको लागि पत्राचार गरेको र सबुत प्रमाण बुझाएपछि ०७३ असार २८ गते फुकुवा गर्दै काम गर्न दिएको ।’

उनले नयाँ भवन निर्माणका लागि नक्सा पास गरिदिन दस्तुर वापत ३ लाख १५ हजार ९०६ रुपैयाँ बुझाएपनि दुई वर्षदेखि नक्सा पास नगरी आर्थिक क्षति पुर्याएको पनि गुनासो गरे । ‘०७८ भदौ २१ निवेदन दिएपनि हालसम्म नक्सा पास नगरी भवन निर्माणको अनुमति दिएको छैन्, जबकी निवेदन पेश गरेको सातदिनभित्र प्रमुख प्रशासकीय अधिकृतले अनुमति दिनुपर्ने व्यवस्था छ’ उनले भने, ‘अरुको उजुरी लिई आफ्नो कार्यालयको अभिलेख समेत नभिडाई नगरपालिकाले तीनदिनको म्याद काट्ने र सो समयमा नआए कारबाही हुने चेतावनीसहितको पत्र काटेर मेरो श्रीमति र परिवारलाई मानसिक यातना दिएको छ ।’

उनले कानूनी प्रक्रियालाई टेकेर आफ्नो अभिलेख हेरी मात्र अभिव्यक्ति दिन र चरित्र हत्या गर्ने काम बन्द गर्न जनप्रतिनिधिलाई पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन् । ‘आगामी दिनमा यस्तो कार्य गरिए कानूनी उपचारमा जानेछौं’ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता समेत ठाकुरले  चेतावनी समेत दिए ।

सो विषयमा कावा मेयर परविनसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

Author:



क्याटोगरी छान्‍नुहोस