पालिका अध्यक्षविरुद्ध डाँका मुद्दा : परमादेशको अढाई महिना, प्रहरीले अझैं दर्ता गरेन जाहेरी 

राजविराज – सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवसहितका चार जनाविरुद्ध चोरी डाँका मुद्दामा परमादेश भएको अढाई महिना वित्दा पनि जाहेरी दर्ता हुन सकेको छैन् ।

गत मंसिर २२ गते उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधिसद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासबाट जिल्ला प्रहरी कार्यालयको नाममा परमादेश जारी भएको थियो । उच्च सरकारी वकिल कार्यालयमार्फत गत माघ २४ गते नै सप्तरी प्रहरीलाई परमादेशको जानकारी पुगे पनि जाहेरी भने अझैं दर्ता गरेको छै्रन् ।

जिल्लाको रुपनी गाउँपालिका–१ का किरण कुमार जयसवाल (राजु)ले गत साउन २३ गते उच्च अदालतमा मुद्दा दिएका थिए । त्यसअघि जयसवालले रुपनी गाउँपालिका–१ बस्ने ५१ वर्षीय गाउँपालिका गाउँपालिका अध्यक्ष यादवसहित सोही ठाउँका २७ वर्षीय राम यादव र ३५ वर्षीय पिताम्वर यादव तथा वडा नम्वर २ का ३२ वर्षीय सरोज यादवले बाटोमै घेरा हालेर हातपात गर्दै कमिसनको प्रमाण रहेको २५ हजार रुपैयाँ पर्ने मोबाईल चोरी डाँका गरेको भन्दै जाहेरी लिएर पुग्दा लिन नमानेपछि गत असार २६ गते जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाएका थिए । तर, प्रहरीले आलटाल गर्दै महिना दिन विताएर पनि जाहेरी दर्ता नगरेपछि न्याय गुहार्दै अदालतमा परमादेशको माग गर्दै मुद्दा दायर गर्नु परेको जयसवालले मधेशलाइभसँग भने ।

‘गाउँपालिका अध्यक्ष यादवले मच्चाएको लुटको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको निहुँमा पटक पटक गालीगलौच गर्दै ज्यान मार्ने धाम्की दिँदै आएको, गत असार २३ गते रातिको समयमा गाउँपालिकाको स्कार्पिओ दुर्घटनामा पर्दा सामाजिक सञ्जालमा लेखेकै निहुँ बनाएर असार २४ गते विहान बाटोमै घेरा हालेर हातपात गर्दै कमिसनको प्रमाण रहेको २५ हजार रुपैयाँ पर्ने मोबाईल चोरी डाँका गरेको’ अदालतमा दायर गरेको मुद्दामा उल्लेख रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानेले सनाखत गर्न नआएकोले जाहेरी दर्ता हुन नसकेको बताएका छन् । ‘कानून अनुसार आएपछि जाहेरी दर्ता नहुने होइन तर उहाँ (जाहेरीकर्ता) सनाखत गर्न आउनुभाको छैन्’ उनले भने, ‘सनाखतपछि जाहेरी दर्ता हुन्छ ।’

यता, जयसवालले सनाखतका लागि गत शुक्रवार मात्रै जिल्ला प्रहरी कार्यालय पुग्दा हदम्यादभित्र जाहेरी दर्ता हुन्छ भन्दै फर्काएको बताए । ‘डिएसपी सा’बसँग कुरा गर्दा एसपी सा’बकोमा पठाउनुभयो, एसपी सा’बले हाम्रो प्रक्रिया हुन्छ र प्रक्रियाअनुसार जाहेरी दर्ता गर्छौ, हद म्यादभित्रै हुन्छ भन्नुभयो ।’, जयसवालले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस