पत्रकारिता छाडेकाहरुले तालाबन्दी गरेको भन्दै पाँच वटा संगठनको आपत्ति

राजविराज–पत्रकारिता छाडेर अन्य पेशा, व्यवसायमा लागेकाहरुले नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा तालाबन्दी गरेको भन्दै विभिन्न पाँच वटा संघ–संगठनहरुले आपत्ति जनाएको छ ।

शुक्रबार प्रेस युनियन, प्रेस मञ्च, प्रेस सेन्टर, प्रेस चौतारी र समाजवादी प्रेस संगठन सप्तरीले विज्ञप्ति जारी गर्दै तालाबन्दी प्रति आपत्ति जनाएको हो । ‘नेपाल पत्रकार महासंघ सप्तरीको राजविराज स्थित कार्यालयमा मिति २०८० फागुन २४ गते सदस्यता शुद्धिकरणमा परेकामध्ये केहि व्यक्ति(पत्रकारिता छाडेर अन्य पेशा, व्यवसायमा लागेका) ले गरेको तालाबन्दी प्र्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा लोकतन्त्र स्थापनाको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको महासंघ नागरिकको मौलिक हक अधिकार, मानवअधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्दै आएको तथ्य कसैबाट लुकेको छैन् ।’

विज्ञप्तिमा सदस्य शुद्धिकरण अभियानमा पाँच वटै संगठनको समर्थन रहेको उल्लेख गरिएको छ । ‘नेपाल पत्रकार महासंघ, चेन अफ कमाण्ड भित्रको र केन्द्रको निर्देशन अनुसार चल्ने संस्था भएको हामीले बुझेका छौं । केन्द्रीय कार्यालयले देशभर शुद्धिकरण गर्ने अभियान चलाएपछि सप्तरी शाखाले पनि चलाएको हामी सबैलाई अवगतै छ । जसको हामी सबै संगठनले समर्थन पनि गरेका हौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘शाखाको शुद्धिकरण निर्णयपछि कतिपयले प्रदेश समितिमा उजुरी पनि दिएका थिए । प्रदेशले सिफारिस गरी केन्द्रमा बुझाउँदा पनि कतिपयले उजुरी हालेका छन् । केन्द्रले अहिलेसम्म सदस्यता निक्र्याैल गरि नसकेको अवस्था विद्यमान छ ।’

स्वेच्छाले सदस्यता परित्याग गरेकाहरुले पुनः आफ्नो सदस्यता कायम रहनुपर्छ भनि ढिपी कसेको भन्दै विज्ञप्तिमा उनीहरुको नैतिकतामाथि प्रश्न समेत उठाइएको छ । ‘अझ स्वेच्छाले सदस्यता परित्याग गरेकाहरु पुनः आफ्नो सदस्यता कायम रहनुपर्छ भनी ढिपी कस्नु नैतिकताको बिषय हुनै सक्दैन् । पत्रकार महासंघ, विशुद्ध पत्रकारहरुको मात्र संस्था बन्नुपर्नेमा हामी प्रतिबद्ध छौं । यो पेशा छाडेर अन्य पेशामा गएकालाई आफैं सदस्यता त्याग गर्नुपर्नेमा सदस्य रहन पाउँ भन्नु न्यायसंगत हुन सक्दैन् ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै सप्तरी शाखाले साधारणसभा गर्ने मिति निर्धारण गरिसकेपछि केन्द्रले नै रोक्न निर्देशन दिएको उल्लेख गर्दै सदस्यता कायम गराउने र साधारण सभा गर्ने अधिकार अहिले शाखालाई नभएको विषय सबैले बुझ्नुपर्ने विज्ञप्तिमा स्पष्ट गरिएको छ । ‘नयाँ सदस्यता दिने बिषयमा महासंघले प्रक्रिया अगाडी बढाईसकेको भनि महासंघको विज्ञप्तीबाट यसअघि नै सार्वजनिक भईसकेको छ । तर, तालाबन्दीले उक्त काम पनि प्रभावित हुने देखिएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघले मागलाई सकारात्मक लिदैं एक चरणको वार्ता पनि गरेको हामीलाई अवगत भएको छ । अर्काे चरणको वार्ता बसी समस्या समाधान गर्नुपर्नेमा त्यसतर्फ ध्यान नदिई एक्कासी ताला नै लगाउनु ठीक होइन् । केहि कुरामा असहमति भए वार्ता र सम्वादको माध्यमले समाधान खोज्नुपर्नेमा वा अन्य रचनात्मक आन्दोलन गर्नुपर्नेमा सोझै कार्यालयमा ताला लगाउनु न्यायसंगत हुनै सक्दैन् ।’

प्रेस युनियन सप्तरीका विनय कुमार लाल कर्ण, प्रेस मञ्च सप्तरीका भुषणकुमार सिंह, प्रेस सेन्टर, सप्तरीका अध्यक्ष दिनानाथ यादव, प्रेस चौतारी सप्तरीका अध्यक्ष डम्बर राई र समाजवादी प्रेस संगठन सप्तरीका अनिलकुमार पोखरेलले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा ताला खोलि वार्ता र सम्वादको माध्यमले समस्या समाधान गर्न सम्बद्ध पक्षसँग आग्रह समेत गरिएको छ ।    

बिहीवार पीडित पत्रकार समूहले तीन बर्ष वितिसक्दा पनि एक पटक पनि साधारणसभा नगरेको, सदस्यता सुद्विकरणको नाममा पक्षपात गरि सदस्यता नविकरण नगरेको र योग्य पत्रकारहरुलाई सदस्यता प्रदान नगरेको भन्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा अनिश्चितकालकालागि तालाबन्दी गरेको हो ।

 

Author:



क्याटोगरी छान्‍नुहोस