विद्यार्थीलाई सङ्घीयताको उपलब्धी पढाउँदै मधेश प्रदेशका सभामुख मण्डल

राजविराज, ६ असार । वर्तमान शासन व्यवस्थामाथि नै प्रश्न उठिरहँदा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल सङ्घीयताका उपलब्धीहरुबारे सचेतना जगाउने कार्यमा सक्रियता बढाएका छन् ।

पछिल्लोपटक उनले शुक्रवार राजविराज स्थित मधेश कृषि विश्वविद्यालयमा अध्ययन विद्यार्थीहरुको कक्षाकोठामा पुगेर सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबारे पढाएका हुन् । बीएससी एजीका विद्यार्थीहरुलाई पढाउने क्रममा उनले राणा, राजतन्त्र, शाहवंशीय परम्परा, प्रजातन्त्र, सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, हालको शासन व्यवस्थाका उपलब्धीहरुबारे डेढ घण्टा लामो कक्षा लिएका छन् ।

राजनीतिप्रति वितृष्णा फैलाउने कार्य भइरहेकोले त्यस्ता भ्रममा नपर्न आग्रह गर्दै उनले राणा शासन र निरंकुश पञ्चायती शासन व्यवस्था फालेर जनताले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित गर्न सफल भएको चर्चा गरे । ‘राणा र राजाको निरंकुश शासन व्यवस्थामा आफ्नै भाइभारदार बीचको पारिवारिक द्वन्द्वका कारण देश साढे दुई सय वर्ष पछाडि परेको पढाउने क्रममा बताए । ‘जनप्रतिनिधिले गलत गर्छ भने जनताले अर्को पटक चुनिदैन, केही नेता गलत हुँदैमा सबै नेता, सबै दल र व्यवस्था नै खराब भयो भन्न मिल्दैन’ उनले भने ।

जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनबाट जनताले व्यवस्था परिवर्तन गर्न सफल भएको र यो उपलब्धी नेपाली जनताका लागि ऐतिहासिक रहेको उनले बताए । सङ्घीयता असफल भयो भनी जनतालाई दिग्भ्रमित गर्ने कार्य भइरहेकोले त्यस्ता भ्रमको पछाडि नपर्न सभामुख मण्डलले आग्रह गरे । कोही कसैले सामान्य गल्ती गर्दैमा व्यवस्थामाथि नै दोष थुपार्न नमिल्ने उनले दावी गरे ।

सभामुख मण्डलले शुक्रबारै मधेश कृषि विश्वविद्यालयको निर्माणाधिन भौतिक पूर्वाधार, प्रयोगशाला, पुस्तकालय, प्रशासनिक कार्यालयका साथै कक्षाकोठाको समेत निरीक्षण गरेका छन् । गरेका प्रयासहरु सराहनीय रहेकोले आफु अत्यन्तै प्रभावित भएको उनले बताए ।

कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतोले सभामुखको आगमनले आफुहरु थप उत्साहित भएको भन्दै आभार प्रकट गरे । डा. भगवान ठाकुर लगायतले विश्वविद्यालयको उपलब्धीहरुबारे सभामुख मण्डललाई जानकारी गराएका छन् ।

केही दिन अघिमात्र सभामुख मण्डल जनकपुरधाम स्थित मोडेल कलेजका विद्यार्थीहरुलाई समेत पढाएका थिए । उनी राजनीतिमा आउनु अघि अङ्ग्रेजी विषयका शिक्षक थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस