रौतहट । रौतहटमा प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। भारततर्फ लैजाँदै गरिएको अवस्थामा गएराति ईशनाथ नगरपालिका–८ मनसरी नजिक सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले चेकजाँच गर्दा पिकअप भ्यानबाट करिब ३ सय ३४ किलो (साढे तीन क्विन्टल) गाँजा बरामद गरिएको हो।
प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको तरकारी बोकेको पिकअप प्रहरीले देख्नेबित्तिकै सडक किनारमा रोकिएको र चालक भने फरार भएको प्रहरीले जनाएको छ। गाडी चेकजाँच गर्दा माथिल्लो भागमा २० बोरा काउली लोड गरिएको देखिए पनि त्यसको तल लुकाइछिपाई राखिएको २६ बोरा गाँजा फेला परेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेकाहरूको विवरण सार्वजनिक नगरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा लामो समयदेखि अवैध लागुऔषध कारोवार जारी रहेकाले निगरानी अझ कडा पारिएको प्रहरीले जनाएको छ।