काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक” प्रमाणीकरण गरेका छन्। संघीय संसद्को दुवै सदनबाट पारित भई पेश भएको सो विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
विधेयक प्रमाणीकरणसँगै लामो समयदेखि नागरिकता नपाएका हजारौँ युवायुवतीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। विशेष गरी जन्मसिद्ध तर कागजातीय कारणले नागरिकता नपाएका, आमाबाबु मध्ये एक जना नेपाली भए पनि प्रमाणपत्र लिन नसकेका र नेपालीसँग विवाह गरेर नेपाल प्रवेश गरेकी विदेशी महिलालाई नागरिकता दिने स्पष्ट व्यवस्था यसमा गरिएको छ।
यसअघि २०७९ सालमा संसद्ले पारित गरेको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राजनीतिक विवाद उत्पन्न भएको थियो। वैवाहिक आधारमा नागरिकता दिने प्रावधान दलहरूबीच मतभेदको मुख्य कारण बनेको थियो। File Picture