काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने जानकारी दिए।
गृहमन्त्री अर्यालका अनुसार आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ। आयोगले भदौ २३ र २४ गतेका घटनाका कारण, परिणाम र सम्भावित दोषी व्यक्तिहरूबारे अध्ययन गरी आवश्यक सुझावसहित सरकारलाई प्रतिवेदन बुझाउनेछ।
यसैबीच, मन्त्रिपरिषद्को सोही बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको प्रमुखमा एआईजी डा. मनोजकुमार केसीलाई सरुवा गर्ने निर्णय गरेको छ।