काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा राष्ट्रको सबल आधार भएको उल्लेख गर्दै समावेशी, दिगो र समुन्नत मुलुक निर्माणका लागि गुणस्तरीय तथा व्यवहारिक शिक्षा अपरिहार्य रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिए। शिक्षा ज्ञान र सीपको हस्तान्तरणमा मात्र सीमित नभई नागरिक चेतना, नैतिक मूल्य, सहिष्णुता, मानवता र राष्ट्रिय एकताको भाव मजबुत बनाउने माध्यम हुनुपर्ने बताए ।
शिक्षित, दक्ष, जिम्मेवार र राष्ट्रभक्त नागरिक नै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका आधारस्तम्भ भएकोउनले उल्लेख गरे।
सम्बोधनका क्रममा उनले शिक्षाको लक्ष्य शैक्षिक उपलब्धिमा मात्र सीमित नराखी विद्यार्थीमा असल संस्कार, अनुशासन, जवाफदेहिता र सामाजिक उत्तरदायित्व विकास गर्नुपर्ने आवश्यकता औंल्याए। आजका विद्यार्थी नै भोलिका नेतृत्वकर्ता भएकाले उनीहरूमा जिम्मेवारीबोध, सहिष्णुता र सदाचार अपरिहार्य रहेको उनको भनाइ थियो।
विश्व तीव्र परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै उपराष्टपति यादवले प्रविधि, ज्ञान र नवप्रवर्तनसँगै शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताए। सामुदायिक र निजी शिक्षालयहरू परिपूरक तथा सहयोगीका रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै उनलेे शिक्षा निजी स्वामित्वमा भए पनि यसको उद्देश्य सार्वजनिक हितसँग गाँसिनुपर्ने स्पष्ट पारे।
निजी शिक्षालयहरूले आर्थिक रूपमा कमजोर, असहाय तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति र सहुलियतमार्फत समान अवसर सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।