कृषकलाई चैते धान काट्ने चटारो

राजविराज, २८ जेठ । सप्तरीका कृषकलाई चैते धान काट्ने चटारो सुरु भएको छ । अहिले छिन्नमस्ता गाउँपालिका लगायत पूर्वी र पश्चिमी क्षेत्रमा कृषकहरु चैते धान काट्नमा व्यस्त छन् ।

छिन्नमस्ता गाउँपालिकाका खुदीबखारी, कोचाबखारी, सखडा, लोखरम, वरही विरपुर, लालापट्टि लगायतका क्षेत्रमा झण्डै १ सय विघा क्षेत्रफलमा लगाइएको चैते धान काट्न यतिवेला कृषकहरु व्यस्त छन् । यद्यपी, गत वर्षको अनुपातमा उत्पादनमा देखिएको कमीले कृषकहरु निरास बनेका छन् ।

‘यस वर्ष चैते धानमा किराको प्रकोप देखिएका कारण उत्पादनमा कमी आएको छ’ छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका बसन्त कुमार मण्डलले भने–‘धानको खरिद मूल्य पनि न्यून नै रहेकाले लगानी उठ्न पनि कठिन हुने अवस्था छ ।’

मौसमी सिँचाईले मात्र चैते धानलाई नपुग्ने र सिँचाईको समेत अभाव नै रहेकोले बोरिङ्ग र मोटरबाट सिँचाई, महँगोमा मलखाद्य र किनाशक खरिद तथा मजदुर गरेर चैते धान लगाउन अलिबढी नै महँगो पर्ने गरेको कृषक शम्भु साहले बताए ।

छिन्नमस्तासहित तिरहुँत गाउँपालिका तथा खडक नगरपालिका सहितका ठाउँ गरी गत वर्ष सप्तरीमा २१५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको थियो । जसबाट ४ देखि ५ मेट्रिक टनको हिसाबले १ हजार १२५ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष भने उत्पादनमा केही कमी आउने कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस