‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’: गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुको आपत्ति

राजविराज । सरकारले लागू गर्न लागेको ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधि २०७७ प्रति गजेन्द्रनारायण सिंह अस्पताल राजविाराजका केही चिकित्सक र स्वास्थ्यकर्मीहरुले आपत्ति जनाएको छ । उनीहरुले सरकारी चिकित्सक संघ (जिओडिएएन) र नेपाल चिकित्सक संघ (एनएमए) का सल्लाह र सुझावहरुलाई नजर अंदार गरी हचुवाको भरमा चिकित्सकहरुकै अपमान र मानमर्दन हुने गरी हतारमा सो कार्यविधि लागू गर्न लागेको ठहर गरेका छन् ।

अस्पतालका १९ जना चिकित्सकहरुले सो कार्यविधि यथास्थितिमा लागू नगर्न अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु)लाई पत्र बुझाउने तयारी गरेका हुन् । सो पत्रमा भनिएको छ, ‘हाल सञ्चालित अस्पतालका सम्पूर्ण नियमित सेवाहरुलाई अझै बढी सहज र प्रभावकारी रुपमा सञ्चालन गर्न हामी सबै तयार छौं । सरकारी संयन्त्रको असफलताको दोषी चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई मात्र देखाउने गरी जबरजस्ती विना कुनै वैज्ञानिक आधार लागू गर्न खोजिएका यस कार्यविधिको यथास्थितीमा प्रतिवादी गर्नु बाहेक हामीसँग अरु कुनै विकल्प हुने छैन् ।’

पत्रमा कोभिड–१९ महामारीमा दिनरात खटिरहेका चिकित्सकहरुलाई हतोत्साहित पार्ने गरी सो कार्यविधि लागू गर्न लागिएको उल्लेख गरिएको छ । ‘महामारीका कारण विपदमा परेका विरामीहरुको सेवामा सधै दिनरात खटिरहेका चिकित्सकहरुको मनोबल बढाउनुको सट्टा हतोत्साहित पार्ने गरी आएको यस कार्यविधि यथास्थितीमा लागू नगर्नुहुन अनुरोध गर्दछौं ।’

अस्पतालका डा.दिलिप कुमार साह, डा.दिपा यादव, डा.उमेश झा, डा.ज्ञानेन्द्र कुमार झा, डा.प्रानेश कुमार यादव, डा.सरोज कुमार यादव, डा.संदिप कुमार साह, डा.शशिशेखर सिंह, डा.वृहस्पति केसी, डा.अरुण कुमार साह, डा.राज कुमार यादव, डा.राजेन्द्र प्रसाद दास, डा.सुर्यनारायण यादव, डा.डिकथान यादव, डा.अनिल कुमार यादव, डा.सुस्मिता यादव, डा.प्रमोद कुमार यादव र डा.अनिल कुमार यादवले सो पत्रमा हस्ताक्षरसहित तयार गरेका छन् ।

 

सरकारले केही समयअघि ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ (कार्यक्रम सञ्चालन) कार्यविधि, २०७७ ल्याएको छ । सो कार्यविधि अनुसार पहिलो चरणमा गजेन्द्रनारायण सिंह अस्पतालसहित १० वटा अस्पतालमा लागू गर्ने तयारी गरिएको छ । सो कार्यक्रम लागू भएसँगै अस्पतालका चिकित्सक/स्वास्थ्यकर्मीहरुले बाहिर काम गर्न नपाउने छैन् ।

यो पनिः

अबदेखि गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक पनि बाहिर काम गर्न नपाउने !

Author:



क्याटोगरी छान्‍नुहोस