सरकार अझैं १० वर्षसम्म ओलीकै वरिपरि घुम्छः नेता प्याकुरेल

राजविराज, ३ असार । राष्ट्रियसभा सदस्य एवं नेकपा एमालेका नेता सुमनराज प्याकुरेलले नेपाली काँग्रेसका नेताहरु संविधानको मूल मर्म विपरित कार्य गरिरहेको आरोप लगाएका छन् । आज सप्तरीको राजविराजमा प्रेस चौतारी नेपाल, सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘समर्थन र विरोध दलले गर्छ, दलको वैधानिक निर्णयबाट गरिन्छ तर दल एकातिर अर्थात दलको बहुसंख्या दुई तिहाईतिरभन्दा बढी दल एकातिर र दल भित्रका केही असन्तुष्ट व्यक्तिहरुलाई व्यक्तिगत रुपमा लिने अर्कोतिर यो दलिय व्यवस्था हुदैन’ उनले भने–‘त्यसरी अर्का दलबाट मान्छे चोर्ने दलिय व्यवस्थालाई नेपालको संवैधानिक रुपले पनि त्यसलाई मान्यता दिएको छैन् ।’ यद्यपी, नेपाली काँग्रेसका नेताहरु सो कार्य गरिरहेको उनले आरोप लगाए ।

नेता प्याकुरेलले नेपाली काँग्रेसलाई सोझै प्रतिष्पर्धा गर्ने हिम्मतसम्म नरहेको बताए । ‘आफ्नो पार्टीसँग काँग्रेसलाई सोधै प्रतिष्पर्धा गर्ने हिम्मत छैन, सरकार फेर्न समर्थन फिर्ता लिने हिम्मत पनि गर्न नसक्ने र लोकतन्त्र तथा संविधानको ठुल–ठुला गफ दिएर आफैं संविधान विपरित कार्य गर्ने ?’ उनले भने–‘काँग्रेससँग दम छैन भन्ने कुरा स्पष्ट छ ।’

उनले अबको १० वर्षसम्म पनि आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको वरिपरि सरकार घुम्ने दावी गरे । ‘सरकार अझैं १० वर्षसम्म केपी शर्मा ओलीकै वरिपरि घुम्छ, लेखेर राख्नुस्’, उनले भने ।

‘रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको छिट्टै शिलान्यास हुन्छ’

सोही पत्रकार सम्मेलनमा नेता प्याकुरेलले सबैको अथक प्रयासबाट रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जग्गा स्वीकृत भएको बताए । ‘सबैको प्रयासबाट प्रतिष्ठानको लागि ६२ विघा जग्गा स्वीकृत भएकोमा जिल्लावासीसहित सबैमा धन्यवाद’ उनले भने–‘चाँडै भवन शिलान्यासको लागि तयारी भइरहेको छ ।’

शिलान्यास भएर मात्रै नहुने भएकाले सो कार्यमा पनि सबैको सहयोग आवश्यक रहेको उनले बताए । ‘प्रतिष्ठान सबैको सहयोग र साथले नै निर्माण हुने हो, त्यसैले सबै मिलेर अघि बढौं’, उनले भने ।

प्रेस चौतारी नेपाल सप्तरीका सचिवालय सदस्य उत्तम आचार्यको अध्यक्षता आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य सुखराम यादव, जिल्लाका नेताहरु सुरेश सिंह, अशोक यादव लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस