जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
सूचनामा भनिएको छ, ‘असार २३ गते दिनको १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक असार २५ गते दिनको १ बजे बस्नेछ ।’ बैठक स्थगित गरिएको सूचना सांसदहरुलाई एसएमएस पठाएर पनि जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
असार १ मा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले प्रस्तुत गरेका थिए । सोही दिन सदनमै सभामुख सरोज यादवले अगामी बैठक असार १५ दिनको १ बजे बस्ने बताए । तर अन्तिम समयमा आएर बैठक स्थगित गरेर असार २३ मा बस्ने सूचना जारी गरिएको थियो ।
आज बस्ने बैठक प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकोले स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।
स्रोतका अनुसार बैठक स्थगित गर्नुको अर्को कारण सांसदहरुले संसद क्षेत्र विकास कोषको रकम बढाउन गरेको मागमा सहमति जुट्न नसक्नु पनि हो । यस विषयमा सरकारले नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सांसदहरुसँग पटक–पटक छलफल गरे पनि सहमति नजुटेको बुझिएको छ ।
प्रतिपक्षी मात्र नभएर सत्तापक्षकै सांसदहरुले पनि प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई अढाई करोड बजेट दिनुपर्ने माग गरेका छन् । अगामी बर्षको बजेट टेबल गर्न नदिने भएपछि मुख्यमन्त्री लालबाबु राउतले संसद क्षेत्र विकास कोषको रकम बढाउने आश्वासन दिएका थिए ।