छिन्नमस्ता गाउँपालिकाः पशु सेवा शाखामा औषधि खरिद गर्ने नाममा लूट !

राजविराज, ३० भदौ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको पशु सेवा शाखाले औषधि खरिद गर्ने नाममा लाखौं रुपैयाँ हिनामिना गरेको खुलासा भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट निःशुल्क पाएका औषधि नै देखाएर खरिद गरेको भन्दै गाउँपालिकाको लाखौं रुपैयाँ हिनामिना गरेको पाइएको हो । शाखाका प्रमुख चन्द्रनारायण पण्डित र सहायक प्रमुख रमेशप्रसाद यादवको मिलोमतोमा लाखौं रुपैयाँ हिनामिना गरेको मधेशलाइभलाई तथ्यांक फेला परेको छ ।

सो तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/०७७ मा पशु सेवा शाखाले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट ३४ प्रकारका औषधिहरु निःशुल्क प्राप्त गरेको छ ।

तर, सोही वर्ष पशु शिविर र भ्याक्सिनको नाममा सवा चार लाख खर्च गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले पनि देखाउँछ । प्रतिवेदनअनुसार गाउँपालिकाको वडा नम्वर ६ मा पशु शिविर तथा भ्याक्सिनेशन कार्यक्रम सञ्चालन गरेको आधारमा रमेश प्रसाद यादवले लिएको ३ लाख रुपैयाँ पेश्की फछ्र्यौट भएकोमा न्यू जनता एग्रोभेटबाट १ लाख ६३ हजार ५ सय रुपैयाँको औषधि खरिद गरेको बील पेश गरेको छ । तर, खरिद भएका औषधिहरु कति खपत भए र कति बाँकी रहेको विवरण पेश गर्न सकेको छैन् । प्रतिवेदनमा खपत नभएका औषधिको मूल्य सम्बन्धितबाट असुल हुनुपर्ने उल्लेख छ ।

यसैगरी ४ जना भ्याक्सिनेटरलाई ५ हजार बाख्रा र १० गाई/भैसीलाई भ्याक्सिन लगाएको भनि १ लाख २५ हजार रुपैयाँ भुक्तानी गरेको छ । यद्यपी, कार्यक्रम सञ्चालन भएको विवरण तथा प्रतिवेदन पेशै नगरी भुक्तानी दिइएकोले सोको विवरण र प्रतिवेदन पेश हुनुपर्ने पनि महालेखा परीक्षकको प्रतिवेदनमा जनाउँछ ।

पशु सेवा शाखा श्रोतका अनुसार निःशुल्क पाएकै औषधि देखाएर गाउँपालिकाबाट निकासा लिएको छ । उता, पशु सेवा शाखाका प्रमुख पण्डितले पनि निःशुल्क पाएका र खरिद गरिएका औषधिको छुट्टाछुट्टै विवरण नरहेको स्वीकार गरे ।

‘हामीले अहिलेसम्म निःशुल्क पाएका र खरिद गरिएका औषधिहरु वितरण गर्दै आएका छौं तर वितरण गरिएका औषधिको विवरण भने हामीले एउटै रजिष्टर राखेका छौं’ उनले भने–‘अलग अलग राख्नुपर्ने हो तर बजेट अभावका कारण छुट्टा छुट्टा रजिष्टर खरिद गर्न सकिएन ।’ यद्यपी, आफुहरुले औषधि खरि गरेर वितरण गरेको पण्डितको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस