जनकपुरधाम, ४ असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन कायम गर्न स्थायी सत्ता इमान्दार हुनुपर्ने आवश्यक औंल्याएका छन् । सोमवार प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक सुशासन केन्द्रले बर्दिवासमा आयोजना गरेको स्थानीय तहको संस्थागत स्वमुल्यांकन सम्बन्धि समिक्षा एवम् अनुशिक्षण कार्यक्रमलाई समुदघाटन उनले यस्तो बताएका हुन् ।
‘कर्मचारी तन्त्रको सहयोग विना अनियमितता हुनैसक्दैन्’ उनले भने–‘जनप्रतिनिधिलाई नियम कानून बुझाउने जिम्मा पनि स्थायी सत्ता अर्थात कर्मचारीकै रहेको हो ।’ सुशासन कायम गर्ने पहिलो खुड्किलो स्वमुल्यांकन रहेको उल्लेख गर्दै उनले स्वमुल्यांकनलाई प्राथमिकतामा राख्न स्थानीय तहमा रहेका प्रशासकीय अधिकृतहरुलाई निर्देशन समेत दिए ।
जनप्रतिनिधि एउटा निश्चित अवधी मात्र रहने तर कर्मचारीहरु लामो समय रहने भएकाले सुशासन कायम गराउने ठुलो दायित्व कर्मचारीकै काँधमा रहेको मुख्यमन्त्री राउतको कथन छ । प्रदेशमा भ्रष्टाचार अन्त्यकोलागि जनलोकपाल आयोग गठन भइसकेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही गर्ने अधिकारी आयोगको रहेको हुँदा सचेत रहन आग्रह गरे ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रादेशिक निर्देशक एवं मुख्यमन्त्री कार्यालयका सचिव यमप्रसाद भुषालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख सचिव हरिप्रसाद मैनाली, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह–सचिव वसन्त अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकाल लगायतको उपस्थिती थियो ।