कार्यकर्तालाई डा.राउतको निर्देशन–‘मत पाउन सहानुभुति, सहकार्य र सद्भावपूर्ण कार्यमा लाग्नुस्’

राजविराज, ४ असोज । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनु नै हाम्रो पहिलो लक्ष्य हुनुपर्ने कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । जनमत पार्टी जिल्ला समन्वय समिति सप्तरीको पुुुर्ण बैठक कार्यक्रममा सहभागी भएका कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

‘आगामी निर्वाचनमा हाम्रा उम्मेदवारीहरु कसरी जित्छ, त्यसको लागि गृह कार्यमा लाग्नुस्, स्थानीय वृद्धवृद्धा, अनुभवी, समाजका अगुवा र वुद्धिजीवीहरुसँग सद्भावपूर्ण समन्वय गर्नुस्’ उनले भने–‘यी सबै पक्षलाई समेटेर हामीलाई अघि बढ्नुछ ।’

उनले सद्भाव राखेर सहानुभुति लिने कोसिसमा लाग्न पनि कार्यकर्ताहरुलाई सुझाव व्यक्त गरे । ‘जनतालाई तपाईप्रति भरोसा र विश्वास हुनुपर्छ, त्यसकालागि जनताको समस्यालाई हामीले समाधान दिनसक्छौं भन्ने विश्वास दिलाउनुस्’ उनले भने–‘यसमा सहानुभुति, सहकार्य र सद्भाव आवश्यक छ ।’

उनले मधेशी जनताको हक अधिकार सुनिश्चित गर्न जनमत पार्टीलाई भोट हाल्नैपर्ने दावी समेत गरे । जनमत पार्टी सप्तरीका अध्यक्ष चन्देश्वर मण्डल (किसान)को अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले सञ्चालन गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस