फेवातालमा तराईका माछा, किसान मारमा

पोखरा, ७ असोज । पोखरा सात तालको शहर हो । पोखराका फेवाताल, बेगनासताल र रूपाताल चर्चित ताल मात्रै नभई माछा उत्पादन क्षेत्रसमेत हुन् । पोखराको तालमा घुम्न आउने पर्यटकहरूले यहाँको लोकल माछा मन पराउने मात्र होइन, यहाँको लोकल माछा खानैकै लागि पनि पर्यटक आउने गरेका छन् ।

तर, अहिले फेवातालका माछा किसान अन्यायमा परेका छन् । एकातिर लगातारको वर्षापछि तालको पानी बारम्बार धमिलिँदा जालमा माछा कममात्र पर्ने गरेको छ भने अर्कातिर तराईको सस्तो माछालाई लोकल माछा भनेर बेच्न थालेपछि उपभोक्ताले समेत माछा किन्न छाडेका छन् ।

फेवातालमा माछा मारेर नै करिब ८ सय बढी परिवारको दैनिक गुजारा चलिरहेको छ । तर, फेवाताल क्षेत्रमा रहेका होटलमा समेत फेवातालको माछा भन्दै बाहिरका माछा बेच्न थालेपछि जलारी समुदाय मात्र होइन्, आम ग्राहक र पर्यटकसमेत ठगिने गरेका छन् । होटलमा बस्ने पर्यटक पनि माछाका परिकार खाँदा तालकै लोकल माछा खान रुचाउँछन् तर उनीहरूलाई लोकल माछाको परिकार भनेर बाहिरको माछा खुवाउने गरिएको छ । अझ पोखराको हल्लनचोकदेखि हपर्न खोलासम्म फेवातालको माछा भन्दै तराईको माछा बिक्री हुने गरेको छ ।

यति मात्र होइन, फेवातालमा माछाको कालोबजारी हुँंदा समेत प्रहरीले उल्टै सुरक्षा दिँदै माछा झार्ने गरेको भेटिएको छ । पोखरा महानगरपालिका–१८ बुलौदीमा कालोबजारी भएको भन्दै स्थानीय बासिन्दा माछा रोक्न रातभर गस्तीमा खटिने गरेका छन् । तर, व्यवसायीले भने माझीहरू माछाका लागि जाल थाप्न जाने क्रममा माछा झार्ने गरेको बताउँछन् । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस