होटेलमा बसेको पैसा नतिरेर भागेपछि…

राजविराज, १६ असोज । होटेलमा बसेको पैसा नतिरेर भागेको भन्दै एक व्यवसायी सञ्चारकर्मी गुहार्दै सप्तरी आइपुगेको छ । शनिवार राजविराजमा पत्रकार सम्मेलन गर्दै मोरङको पथरी शनिश्चरे नगरपालिकाका सुभाष धिमालले आफ्नो पैसा उठाउनमा सहयोग गरिदिनुहुन सबैमा आग्रह गरे ।

धितालले काठमाडौंको गौशालास्थित ग्रीन हाउस नामक होटेल सञ्चालन गर्दै आएका छन् । सोही होटेलमा दुई महिनाबढी समयदेखि बस्दै आएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका अशोक झाले पैसा नतिरेर भागेको धिमालको आरोप छ ।

‘यसअघि पनि उहाँ कहिलेकाही आउनुहुन्थ्यो र पैसा पनि तिरेर जानुहुन्थ्यो, तर पछिल्लो पटक दुई महिनाभन्दा बढी समय बसेको र खाएको पैसा नतिरेर गायब हुनुभयो’ उनले पत्रकार सम्मेलनमा भने–‘उहाँ ०७७ मंसिर २० गते होटेलमा आउनुभएको थियो, छोरीको उपचारको लागि आएको हुँ भन्नुहुन्थ्यो । उहाँ माघ २९ गतेसम्म बस्नुभयो र अचानक गायब नै हुनुभयो ।’

फोन गरेर पैसा माग्दा पनि अनाकानी गदै आएको होटेल सञ्चालक धिमालको भनाई छ । ‘उहाँमाथि ६३ हजार रुपैयाँ छ, फोन गरेर माग्दा जहिले नै अनाकानी गर्नुहुन्छ’ उनले भने–‘उहाँ पनि पत्रकार नै हो भनेर भन्नुहुन्थ्यो, त्यसै भएर पनि म यहाँहरुको सहयोग चाहेको हुँ ।’ अरु कानूनी कुराको लागि पनि प्रक्रिया अघि बढाएको धिमालको कथन छ ।

उता, झाले पत्रकार सम्मेलन गर्नु गलत रहेको प्रतिक्रिया दिए । ‘जे थियो मसँग कुरा गर्नुपर्ने हो तर पत्रकार सम्मेलन नै गर्नु गलत हो’ उनले भने–‘बाँकी म होटेलबालासँगै कुरा गर्छु ।’

Author:



क्याटोगरी छान्‍नुहोस