विराटनगर कारागारमा कैदीबन्दीबीच झडप

विराटनगर । विराटनगर कारागारमा आज झडप भएको छ । चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्दीहरू आन्दोलित भएका हुन् ।

गुरुङको निर्देशनमा नाइके र भाइनाइकेहरूले यातना दिएको कैदीबन्दीको आरोप छ । गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइनाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएपछि विवाद बढेको हो ।

विवादपछि दुई पक्षबीच दोहोरो झडप भएको हो । घटनामा चौकीदार गुरुङसहित केही नाइकेहरू घाइते भएका छन् । विराटनगर कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले कारागारमा विवाद भएको जानकारी दिए ।

घटनामा चौकीदार गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मोक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएका छन् ।

कारागारमा रहेका कैदीबन्दी पदमकुमार लिम्बू, किरण गुरुङ, शखेर राई, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, विशाल मोक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई र बविहाङ राईलाई अरू कैदीबन्दीहरूले कोठामा थुनिदिएका थिए ।

चौकीदारसहित १४ जनालाई बाहिर निकालेर राखेपछि घटना साम्य भएको जेल कारागारले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस