आजदेखि देशभर दिन लागिएको फाइजर खोपबारे यी कुरा थाहा पाउनुहोस्

जनकपुरधाम । नेपालमा पहिलो पटक १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप दिइँदैछ । पहिलो चरणमा आजदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई यो खोप दिन लागिएको हो । सरकारले अब फाइजर खोप कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने र दुई चरणमा गरी ५० लाखलाई दिने जनाएको छ ।

कस्तो हो फाइजर खोप ?

फाइजर खोप अमेरिकी कम्पनी फाइजर–बायोएनटेकले उत्पादन गरेको एमआरएनए प्रकारको कोभिड १९ विरुद्धको खोप हो । अमेरिकी सरकारी संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार सन् २०२१ को २३ अगस्टमा यूएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले फाइजर खोप १६ वर्षमाथिका व्यक्तिहरुलाई लगाउनका लागि अनुमति दिएको थियो ।

अक्टोबरको अन्तिमबाट भने अमेरिकामा यो खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि दिइँदै आएको छ । उत्पादक कम्पनीका अनुसार सामान्य अवस्थाका व्यक्तिलाई पहिलो डोज लगाएको तीन सातापछि दोस्रो डोज लगाइन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई दोस्रो डोज लगाएपछि कम्तीमा चार सातापछि बुस्टरका रुपमा तेस्रो डोज लगाउन सकिने विज्ञहरुले जनाएका छन् । फाइजर खोप अन्य उमेर समूहजस्तै किशोरकिशोरीका लागि प्रभावकारी रहेको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ ।

१२ देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरीको समूहमा प्रयोगशालामा यो खोपको क्लिनिकल ट्रायल गर्दा कोभिड–१९ को संक्रमणविरुद्ध प्रभावकारी सावित भएको छ । यो खोप लगाएपछि १६ देखि २५ वर्ष उमेर समूहमा जस्तो प्रतिरोधात्मक क्षमता विकास भएको छ, १२ देखि १५ वर्ष उमेर समूहमा पनि यसको प्रभावकारीता उस्तै देखिएको छ । “तीन चरणको क्लिनिकल ट्रायलको नतिजा अनुसार पहिले संक्रमण नभएका १६ वर्ष वा त्यसभन्दा माथिका व्यक्तिमा यो खोप दुई डोज लगाउँदा इम्युन सिस्टम बढाउन ८४ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ । १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीमा पनि यो खोप उत्तिकै प्रभावकारी रहेको पाइएको छ,” सीडीसीले आफ्नो अध्ययन् रिपोर्टमा भनेको छ, “बुस्टर (तेस्रो) डोज लगाएपछि भने संक्रमण हुनबाट ९५ प्रतिशत सुरक्षित रहन सकिन्छ ।”

यी व्यक्तिलाई दिइँदैछ पहिलो चरणमा फाइजर खोप 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा फाइजर खोप दिन आठवटा लक्षित समूह छुट्याएको छ । उनीहरुलाई पहिलो डोज आजदेखि मंसिर ४ गतेसम्म र दोस्रो डोज मंसिर २७ देखि पुस ४ गतेसम्म दिइने मन्त्रालयले जनाएको छ । यी व्यक्तिलाई फाइजर खोपको पहिलो प्राथमिकतामा राखएिको छ ।
– मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका
– मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका
– जुनसुकै प्रकारको क्यान्सरसँग उपचार गराइरहेका
– फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका
– अंग प्रत्यारोपण गरेका
– उच्च रक्तचाप वा मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका
– रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका
– मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धि रोग भएका

खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचारसम्बन्धि पुर्जा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।

यी हुन् फाइजर खोप दिइने अस्पतालहरु 
वीर अस्पताल, काठमाडौं
वीरेन्द्र सैनिक अस्पताल, काठमाडौं
सिभिल अस्पताल, काठमाडौं
त्रिवी शिक्षण अस्पताल काठमाडौं
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, काठमाडौं
पाटन अस्पताल, ललितपुर
भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर
मेची प्रादेशिक अस्पताल, झापा
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी
कोशी अस्पताल, मोरङ
गजेन्द्रनारायणसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, सप्तरी
नारायणी प्रादेशिक अस्पताल, पर्सा
जनकपुर प्रादेशिक अस्पताल, धनुषा
बीपी कोइराला स्मृति क्यान्सर अस्पताल, चितवन
धुलिखेल अस्पताल, काभ्रे
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की
धौलागिरी अस्पताल, बाग्लुङ
लुम्बीनी प्रादेशिक अस्पताल, रुपन्देही
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
भेरी अस्पताल, बाँके
कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत
सेती प्रादेशिक अस्पताल, धनगढी
डडेलधुरा अस्पताल, डडेलधुरा

यी हुन सक्छन् साइड इफेक्ट
फाइजर खोप लगाइसकेपछि अन्य खोपजस्तै पाखुरामा दुख्ने, रातोपना देखिने र सुन्निने समस्या आउनसक्ने उत्पादक कम्पनीले जनाएको छ । यो साइड इफेक्ट एक वा दुई दिनसम्म रहनसक्छ । त्यसैगरी, शरीरमा थकान हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, ज्वरो आउने आदि समस्या देखिन सक्ने पनि कम्पनिले जनाएको छ ।

गम्भीर एलर्जीको समस्या भएका व्यक्तिले फाइजर खोप लगाउँदा जटिलता आउनसक्ने भएकाले त्यस्तो अवस्था खोप नलगाउन सीडीसीले आग्रह गरेको छ । पहिलो डोज खोप लगाएर जटिल एलर्जीको समस्या आएमा दोस्रो डोज लगाउनु हुँदैन । एलर्जीको समस्या बढ्दै गएमा बिरामीलाई उचित मेडिकल केयर उपलब्ध गराउनुपर्ने कम्पनीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस