काठमाडौं । नेपाली कांग्रेसकोे १४औं महाधिवेश भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ ।
संस्थापन पक्षले उम्मेदवारसँग छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार आफ्नो समूहको बैठक राखेको थियो भने संस्थापन इतर पक्षले बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड र दिउँसो ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा बैठक राखेको थियो ।
तर, संस्थापन र इतर दुवैतर्फको बैठक उम्मेदवारसँग कुनै टुंगो नै नलगाई बिनानिष्कर्ष सकिएको हो । संस्थापन समूहको बैठकमा सभापतिले पार्टीका लागि पदाधिकारी बन्न चाहनेहरूको राय लिएका थिए भने इतर पक्षको बैठकमा सभापतिका उम्मेदवारमा दाबी गर्दै आएका नेतात्रय रामचन्द्र पौडले, प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच सहमति खोज्ने प्रयास भएको थियो ।
संस्थापन पक्षको बैठकले भने पदाधिकारी र सदस्य बन्न चाहने उम्मेदवारको राय लिएपछि आवश्यक छलफल र निर्णय गरी नाम सिफारिस गर्ने अधिकार सातै प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूलाई जिम्मा दिएको संस्थापन इतर समूहबाट सहमहामन्त्रीको उम्मेदवार दाबी गर्दै आएका नेता मीन विश्वकर्माले राजधानीसँग भने ।
सो कामका लागि संस्थापन पक्षले सुदूरपश्चिममा एनपी साउन, कर्णाली पूर्णबहादुर खड्का, लुम्बिनीमा बालकृष्ण खाण, गण्डकीमा गोपालमान श्रेष्ठ, बाग्मतीमा प्रकाशशरण महत, प्रदेश २ मा रमेश रिजाल र प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा दिइएको हो । यसैगरी, इतर पक्षको बैठकमा सहमतिको अवस्था नबनेपछि वरिष्ठ नेता पौडेलले भने पार्टीलाई कमजोर बनाएर आफू हेरेर बस्न नसक्ने भन्दै बैठकमै आक्रोश व्यक्त गरे ।
उनले सिंह र कोइराला दुवैलाई ‘कि मिल्नुस् कि छाड्नुस्’ भन्दै पटकपटक आग्रह गरेको बैठकमा सहभागी नेता अर्जुननर सिंह केसीले जानकारी दिए । ‘प्रकाशजी र शेखरजी दुवै नेतालाई हामी सबैले पार्टीभित्रको सुधारवादी आन्दोलन कमजोर नहोस् भनेर पटकपटक मिल्नका लागि आग्रह ग¥यौं तर उहाँहरू सहमति खोज्न तयार हुनुभएन,’ नेता केसीले राजधानीसँग भने ।
सहमतिको वातावरण बन्नेभन्दा बिग्रनेतर्फ अघि बढेपछि वरिष्ठ नेता पौडेलले ‘त्यसो भए म राजनीति छाड्छु, तपाईंहरू चलाउनुस्, म घरमा बस्छु’ भन्दै झोक्किएको एक नेताले जानकारी दिए । सभापतिका अर्का आकांक्षी रहेका महामन्त्री डा. शशांक कोइराला भने ब्याक भइसकेका छन् ।
उनले पौडेललाई समर्थन दिएका छन् । पौडेल पनि दुवै नेतालाई मिलाएर आफू अघि बढ्न प्रयासरत छन् । म्ंगलबारसमेत सिंह निवास चाक्सीबारीमा ५ घण्टा इतर समूहको बैठक बसेको थियो ।
यस्तै, बुधबार बिहानसमेत बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सहमतिको लामो प्रयास भएको थियो । सहमतिका लागि बिहीबार पुनः बैठक बस्ने बताइएको छ । प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक नेपाली कांग्रेसले १४औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको हो । प्रकाशित सूचीमा सातै प्रदेशका ७६ जिल्लाका प्रतिनिधिको नाम उल्लेख छ । तर, प्रदेश २ का सर्लाही जिल्लाबाट भने नामावली केन्द्रीय निर्वाचन समितिमा नआएका कारण राखिएको छैन ।
यस्तै, महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिहरूको नामसमेत सार्वजनिक हुन बाँकी छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले सर्लाहीका चारै क्षेत्र र महोत्तरी ३ को प्रतिनिधिको सूची पनि शुक्रबारसम्म सार्वजनिक गरिने जानकारी दिए । प्रकाशित सूचीमा जनसम्पर्क समिति र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरूको नाम भने समावेश गरिएको छैन ।
कांग्रेसले १४औं महाधिवेशनमा देश तथा विदेश एवं भ्रातृ तथा शुभेच्छुक संघ संस्थाबाट र मनोनीत हुनेगरी ४६ सय बढी प्रतिनिधि सहभागी हुने बताउँदै आएको छ ।
भोलि उद्घाटन, २७ गते मतदान
नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेस महाधिवेशनको उद्घाटन भोलि शुक्रबार प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुँदै छ । कांग्रेस निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन २४ मंसिर बिहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता २५ मंसिर बिहान १० देखि ५ बजेसम्म हुनेछ ।
त्यस्तै, दाबीविरोधको समय सोही दिन बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही दिन नै राति ९ देखि १२ बजेसम्म हुनेछ । यस्तै, मनोनयनपत्र फिर्ताका लागि २६ गते बिहान ११ बजेसम्मको समय तोकिएको छ ।
यसैगरी, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर २७ मंसिर बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणनालगत्तै सुरु गरिनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रिय सभा गृहमा हुने निर्वाचन समितिले जनाएको छ ।
यस्तै, सभापतिका लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै हुनेछ । सभापतिको हकमा राष्ट्रिय सभा गृहमै र अन्य पदाधिकारी र सदस्यहरूको मतगणना पार्टी केन्द्रीय कार्यालयमा गर्ने निर्वाचन समितिले जनाएको छ । कांग्रेस महाधिवेशनमा करिब ४६ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने अनुमान छ । राजधानी दैनिकबाट