सप्तरी, २४ मंसिर। राजविराज कारागारका कैदीबन्दीहरु आन्दोलित भएका छन् । जेलर सुमन कोइराला र कार्यालय सहयोगी चन्दन यादवले अनाहकमा दुःख दिँदै आएको भन्दै कैदीबन्दीहरुले भोक हडताल नै सुरु गरेका हुन् ।
जेलर कोइरालाले यादवसँग मिलेर चौकीदारबाट सञ्चालित किरानाका सरसमानमा मनपरी ढंगले रकम असुल्ने गर्ने गरेको, सरकारबाट पाउने सेवासुविधामा पनि कटौती गरेको र भेट्न आउने आफ्न्तहरुलाई दुर्व्यहार गर्ने गरेको कैदीबन्दीले टेलिफोनमार्फत जानकारी गराए । जेलरको सरुवा हुनुपर्ने, मनपरी ढंगले असुल्ने कामको अन्त्य हुनुपर्ने र भेट्न आउने आफ्न्तहरुसँग समान व्यवहार हुनुपर्ने उनीहरुले माग अघि सारेका छन् ।
कैदीबन्दीहरुले शुक्रवार विहानैदेखि भोक हडतालमा बसेका छन् । प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतम, प्रहरी उपरीक्षक (एसपी) अविनारायण काफ्ले लगायतका टोली पुगेपछि २ घण्टाको छलफलपछि दिउँसो ३ बजेतिर कैदीबन्दीहरुले भोक हडताल अन्त्य गरेका हुन् ।
सिडिओ गौतमले कैदीबन्दीहरुले उठाएको विषयमा छानवीन समिति गठन गरिएको बताए । ‘कैदीबन्दीको समस्या बुझ्न हामीले तत्काल कारागार पुग्यौं र सरकारी सेवा–सुविधा पाइएन लगायत कैदीबन्दीहरुको गुनासो बुझियो’ उनले भने–‘ती गुनासोहरुको वास्तविकता बुझ्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर रामको संयोजकत्वमा समिति पनि गठन गरिसकेका छौं ।’
तत्काललाई केही गुनासोहरु समाधान गराइएता पनि कैदीबन्दीहरुले उठाएको कारवाहीको माग भने समितिले प्रतिवेदन वुझाएपछि मात्रै अघि बढ्ने सिडिओ गौतमको कथन छ । ‘अहिले कैदीबन्दीहरुले सुरु गरेको अनसन स्थगित गरेका छन्’, उनले मधशेलाइभसँग भने ।
एक सय २५ जना क्षमता रहेको राजविराज कारागारमा हाल ३६५ जना कैदीबन्दी छन् ।