सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुनर्संरचना गरिने

काठमाडौं, १ पुस। सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण गर्ने गरी पुनर्संरचना गर्ने भएको छ ।

सङ्घीयता कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका रूपमा रहेको मन्त्रालय सङ्घीयता कार्यान्वयनभन्दा पनि कर्मचारीको सरुवा र बढुवामै केन्द्रित भएकाले मन्त्रालयको पुनर्संरचना गर्न लागिएको बताइएको छ ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले मन्त्रालयलाई पुनर्संरचना गरेपछि कर्मचारी व्यवस्थापन एवं अभिलेख विभाग र सङ्घीय मामिला तथा अन्तरतह सहजीकरण विभाग निर्माण गरिने जानकारी दिए ।

उनका अनुसार कर्मचारी व्यवस्थापन एवं अभिलेख विभागले अहिले राष्ट्रिय निजामती किताबखानाले गर्ने कर्मचारीका सबै अभिलेख राख्ने काम गर्ने र शाखा अधिकृत वा सोभन्दा तलका कर्मचारीको सरुवा र बढुवासमेत सोही विभागले गर्नेछ ।

त्यस्तै सङ्घीय मामिला तथा अन्तरतह सहजीकरण विभागले स्थानीय र प्रदेश तहमा समन्वय गर्ने, नीतिगत काम र अहिले स्थानीय पूर्वाधार विभागले गर्ने सडक, पुल, खानेपानीलगायतका साना विकासका आयोजनाका काम स्थानीय तहलाई हस्तान्तरण गरिने गरी मन्त्रालयको पुनर्संरचना गर्न लागिएको छ ।

मन्त्रालयको पुनर्संरचना भएपछि संविधानमा नै व्यवस्था गरिएका जनजाति, मधेसी, दलित, मुस्लिम, आदिवासी र थारू आयोगसँगको समन्वयको कामसमेत सङ्घीय मामिला तथा अन्तरतह सहजीकरण विभागले गर्नेछ । विभागमा दुई महाशाखा हुनेछन् । गोरखापत्र दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस