राजविराज, २ पुस । ‘प्रेम न जाने जात–पात, भूख न जाने बासी भात’ भने भनाईलाई चरितार्थ गरेका छन् सप्तरीका एक युवा जोडीले ।
जातपातको समाजिक कुरितीलाई चुनौती दिँदै कदमाहाकी २२ वर्षिया बिमला देवी पासवान र राजविराज नगरपालिका–१० का २४ वर्षिय गोपाल कुमाार शर्मा बुधबार वैवाहिक बन्धनमा बाँधिएका हुन् । उनीहरु बीच केही वर्षदेखि प्रेम सम्बन्ध रहँदैआएको थियो । बिमला अनमी उतीर्ण गरी राजविराज स्थित छिन्नमस्ता हस्पिटलमा कार्यरत छिन् भने गोपाल हेल्थ असिस्टेन्ट उतीर्ण गरी सरकारी सेवामा छन् ।
उनीहरु लामो समयदेखि एक अर्कालाई मन पराउँथे । तर त्यो प्रेम वैवाहिक बन्धनमा परिणत होला भने कुराको टुङ्गो थिएन । बिमलाको थर पासवान र गोपालको थर शर्मा रहेकोले दुवै पक्षका अभिभावकले स्वीकार्न तयार थिएन । बिमलाको घरको आर्थिक अवस्था पनि अत्यन्तै कमजोर थियो ।
घर परिवारलाई रिझाउन उनीहरुले खुबै प्रयास गरे । बिमलाका बुवाआमा अन्तरजातीय विवाह गर्न तयार भए पनि गोपालको घर परिवार भने तयार भएन । छोराको जिद्दको अगाडी बुवा प्रमानन्द केही नरम भए ।
राजविराजको कुनै होटेलमा विवाह गर्नुपर्ने शर्तमा उनीहरुको विवाह तय भयो । यता बिमलाका बाआमाकालागि होटेलको कुरा त परै जाओस् विवाहको सामान्य खर्च जुटाउन समेत गाह्रो थियो । विवाहमा आर्थिक समस्या देखिएपछि बिमलाले अभियानी एवम् समाजसेवी करुणा झा कहाँ मनको बह पोखिन् ।
विशाल हृदयकी साहित्यकार झाले उनको पीडामा मलहम लगाउने प्रतिवद्धता व्यक्त गर्दै विवाहको दिन तय गर्न भनिन् । आफ्नी छोरी जस्तै बिमलालाई विधि विधान अनुसार मङ्सिर २९ गते विवाह सम्पन्न गर्न सफल भईन् । मेहदीदेखि विदाईसम्मको खर्च उनले नै व्योहोरेका छन् ।
राजविराज स्थित आई गार्डेन होटेलमा भब्य समारोहका बीच उनीहरुको विवाह सम्पन्न भएको हो । बाजागाजा सहित आएका जन्तीलाई साहित्यकार झाले आफै स्वागत सत्कार गरिन् ।
सौहाद्र्रपूर्ण वातावरणमा विवाह सम्पन्न गराई विहीबार बिमलालाई ससुरालीकालागि विदाई गरेकी हुन् । उनीहरुको प्रेम विवाहलाई सफल बनाउन डा. स्वेता झा र डा. ज्ञानेन्द्र झाले समेत सघाए ।
विदाईका क्रममा बिमला रोईरहँदा साहित्यकार एवम् समाजसेवी झाले समेत आँसु थाम्न सकेन । आफ्नी छोरीलाई विदाई गर्दाको जस्तै रुँदै ‘खुशी साथ बस्नु’ भनी आशिर्वाद दिईन् । ‘जब बिमला मेरो अँगालोमा रोईरहेकी थिईन्, तब मलाई लागिरहेको थियो कि मैले जीवनमा थप एउटा राम्रो काम गरें’ उनले थपिन् ‘बिमलाको ईच्छा पुरा गर्न सफल भएँ, भगवानले नव दम्पत्तीलाई सदैव खुशी राखोस् ।’
विवाहमा लागेको खर्चबारे प्रश्न गर्दा उनले छोरीको विवाहको खर्च सार्वजनिक गर्नु उचित नरहेको बताईन् । केटा केटीको उमेर पुगेको तथा निर्णय लिनसक्ने अवस्थामा उनीहरुको सुखी जीवनकालागि अन्तरजातीय विवाहले दाइजो र जातीय विभेद अन्त्य हुने साहित्यकार झाले तर्क छ ।