कांग्रेस सप्तरीको मतगणनाः अन्तिम चरणमा सञ्चारकर्मीलाई निषेध

राजविराज । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि जारी रहेको मतगणनास्थलमा सञ्चारकर्मीलाई निषेध गरिएको छ। विहिवार साँझ अन्तिम चरणमा मतगणना भइरहदा प्रहरीले सञ्चारकर्मीलाई निषेध गरेको हो ।

दिउँसोसम्म मतगणनास्थल जिल्ला समन्वय समिति सप्तरीको परिसरसम्म सञ्चारकर्मीलाई प्रवेश दिइएको थियो । मतगणना भने समितिको सभाहलभित्र भइरहेको छ। परिसरमै (सभाहल बाहिर) बसिरहेका सञ्चारकर्मीलाई मतगणनाको परिणाम आउन केही समय बाँकी रहदा प्रहरीले अभद्र व्यवहार गर्दै निकालेका हुन् ।

माथिकै निर्देशन रहेको भन्दै सभाहल बाहिर बसिरहेका सञ्चारकर्मीलाई प्रहरीले अभद्र शैली प्रस्तुत गर्दै बाहिर निकालेको उपस्थित सञ्चारकर्मी नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सहसचिव चन्दनकुमार यादवले बताए ।

‘प्रहरीको सो कार्यप्रति आपत्ति प्रकट गर्दछु’ उनले भने–‘सप्तरी प्रहरीले शैली सुधार नगरे प्रेस स्वतन्त्रताको लागि आन्दोलन गर्न बाध्य हुन्छौं ।’

सप्तरी प्रहरीका प्रवक्ता माधव प्रसाद काफ्लेले सञ्चारकर्मीलाई निषेध गर्ने माथिको कुनै निर्देशन नरहेको बताए । ‘हामीले त्यस्तो केही भनेका छैनौं, के रै बुझ्दैछु’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस