विजयी पछि पनि जनताले नरुचाए पद छाड्ने ऋषिको प्रतिबद्धता

राजविराज, २१ वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मेयर पदका उम्मेदवार रहेका कृष्णानन्द यादव (ऋषि)ले जनतालाई परिवर्तनको अनुभुति दिलाउने गरी आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनले बुधवार १० बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै यस्तो बताएका हुन् । ‘देशमा ऐतिहासिक परिवर्तन आए पनि आधिकांश जनताले त्यसको प्रत्याभूति पाउन सकेका छैन’ उनले भने–‘मैले जिम्मेवारी पाए भने परिवर्तनको अनुभूति हुने गरी जनताको काम गर्नेछु ।’

भ्रष्टाचारका कारण स्थानीय स्तरमा पनि विकास निर्माणका काम अघि बढ्न नसकेको टिप्पणीका साथ उनले नगरपालिकाभित्रको भ्रष्टाचार रोक्नका लागि टाष्क फोर्स नै गठन गर्नुपर्ने आवश्यकता औंल्याए । ‘भ्रष्टाचारले गर्दा जनताले स्थानीय सरकारको अनुभूति पाउन सकेका छैन्’ उनले भने–‘यसका लागि टास्क फोर्स नै गठन गरेर अघि बढ्नु जरुरी छ ।’

आधुनिक अस्पताल निर्माण गर्ने, नेपाली र अंग्रेजी माध्यमका नमूना विद्यालय सञ्चालन गर्ने, सवैका लागि निःशुल्क खानेपानी र गरिबका लागि निःशुल्क औषधी जस्ता उनका कार्यक्रम रहेका छन् । १० बुँदे कार्यक्रम सार्वजनिक गर्दै उनले सामाजिक सुरक्षाभत्ता सोझै घरमा पुर्याउने, पातो र पथरगाढा बजार व्यवस्थापन गर्ने, कृषि र पशु पालनमा आधुनिकीकरण गर्ने, दलित, मजदुर, महिला र युवाहरुका लागि रोजगारी, कटैयामा मूल भन्सार कार्यालय स्थापनाका लागि पहल गर्ने, हिलो र धुँलो मुक्त सडक बनाउने जस्ता उनका भावी योजना रहेका छन् ।

उनले आफु विजयी भए पनि जनताले नरुचाएको खण्डमा पदबाट फिर्ता हुने समेत प्रतिवद्धता जनाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस