वीरगञ्जमा गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या

वीरगञ्ज । पर्साकाे वीरगञ्ज महानगरपालिका-२३ इटियाहीमा एक महिलाको हत्या भएको छ । शुक्रबार बिहान श्रीमानले नै श्रीमतीको घाँटी थिचेर हत्या गरेका हुन् ।

स्थानीय २६ वर्षीय दिनेशप्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

बिहान ३/४ बजेको समयमा घरमै श्रीमतीको हत्या गरेको आरोपमा दिनेशलाई प्रहरीले पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले जानकारी दिएका छन् । दिनेशलाई घरबाटै पक्राउ गरिएको जनाएको छ ।

दिनेशले दिएको बयानमा श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शंकाको आधारमा घाँटी थिचेर मारेको प्रहरी नायब उपरिक्षक कार्कीले बताए । शव प्रहरीले पोष्टमार्टनका लागि नारायणी अस्पताल पठाएको र घटना बारे अनुसन्धान भइरहेको जनाएको छ ।

पर्साको पकाहा मैनपुर गाँउपालिका-६ धोरे निवासी प्रतिमाको गत वर्षको बैशाखमा दिनेशसँग मागी विवाह भएको थियो ।मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको केटी पक्षले बताएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस