सप्तरीमा छोराको नागरिकता लिन आएका बुवा नै शंकास्पद

राजविराज । सप्तरीमा छोराको नागरिकता लिन आएका बुवाकै नागरिकता शंकास्पद रहेको खुलेको छ ।

शुक्रबार राजविराज नगरपालिका–७ का राज नारायण मिश्रले छोराको नागरिकता लिनका लागि सिफारिससहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । तर, मिश्रकै नागरिकता नै शंकास्पद देखिएपछि उनीसहित उनकी श्रीमतिको पनि नागरिकता तत्काललाई जफत गरिएपछि सो कुरा बाहिरिएको हो ।

मिश्रको नागरिकता नै नक्कली रहेको हुनसक्ने आशंका रहेको जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ । ‘नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत हरिहर दाहालको हस्ताक्षर पनि मिलेको छैन् भने नागरिकता जारी गरिएको मिति पनि शंकास्पद देखिएको छ’ श्रोतले भन्यो, ‘जारी मितिअनुसार कार्यालयको अभिलेख पनि फेला परेको छैन् र नागरिकता कार्ड पनि कार्यालयकै हो भनेर यकिन गर्नसक्ने अवस्था छैन् ।’

२०५१ असोज २५ गते मिश्रको नाममा नागरिकता प्रमाण पत्र नं. ४५८/३०० मा नागरिकता जारी गरिएको छ । तर, प्रशासकीय अधिकृत दाहालको हस्ताक्षरमा लेखिएको मिति भने २०५१ असार २१ गते नै उल्लेख छ । ‘प्रमाणीत भएको तीन महिना पछि नागरिकता जारी भएको देखिन्छ, त्यस्तो नहुनुपर्ने थियो’ श्रोतले भन्यो, ‘कार्ड स्क्यानिङ गरेर नागरिकता बनाएको हुनसक्ने जस्तो पनि देखिन्छ, नागरिकतामा लेमिनेशन गराइएकोले बाँकी छानविनपछि स्पष्ट भइजाने नै हो ।’

यता, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले सन्तानको नागरिकता लिन आएका मिश्रको नागरिकता शंकास्पद देखिएपछि तत्काललाई सो नागरिकता राखेर छानविन थालिएको बताए । ‘अहिले नै नक्कली हो वा सक्कली भन्ने भन्न त नमिल्ला, छानविन गर्छाैं र त्यसपछि देखिएअनुसार हुन्छ’, उनले भने । आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस