राजविराज – लागु औषधको प्रयोगकर्ता न्यून पार्न सप्तरी प्रशासनले सचेतनामूलक अभियान सुरु गरेको छ।
पछिल्लो समय जिल्लाको विभिन्न ठाउँमा लागु औषध प्रयोगकर्ता बढेको गुनासो हुन थालेपछि प्रशासनले सो अभियान सुरु गरेको हो । लागु औषधको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भएको विषयलाई विद्यालयस्तरका बालबालिका एवम् युवाहरुलाई सचेत पार्न अभियान थालिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
अभियान तहत आइतवार नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियामा लागु औषध सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी साझेदारी कार्यक्रमसँग सहकार्य गरी आयोजना गरिएको सो कार्यक्रममा लागु औषधको सेवाबाट हुने समस्याबारे प्रजिअ थापा र प्रहरी उपरीक्षक अविनारायण काफ्लेले कार्यपत्र प्रस्तुत गरेका थिए ।